काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय भोजपुरमा कार्यरत डिभिजनल वन अधिकृत दानबहादुर श्रेष्ठविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।
श्रेष्ठले १ करोड ४३ लाख १८ हजार ९३७ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत खुलाउन नसकेको भन्दै सोही रकम बराबरको बिगो कायम गरी आयोगले आरोपपत्र दायर गरेको हो ।
आयोगले सोमबार जारी गरेको विज्ञप्तिअनुसार श्रेष्ठले सार्वजनिक पदमा रहेर पदीय अख्तियारको दुरुपयोग गरी अस्वाभाविक जीवनस्तर यापन गरेको र गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको भन्ने उजुरीका आधारमा अनुसन्धान थालिएको थियो ।
श्रेष्ठको सार्वजनिक सेवा प्रवेश मिति २०४८ साल असार २६ गतेदेखि २०८० साल फागुन १६ गतेसम्मको आय र व्ययको विश्लेषण गरिएको थियो। अनुसन्धानका क्रममा श्रेष्ठले एक करोड ४३ लाख १८ हजार ९३७ रुपैयाँ ५० पैसा भ्रष्टाचार गरेको पाइएको अख्तियारको ठहर छ ।
अख्तियारले श्रेष्ठले गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्ति पत्नी नरमाया श्रेष्ठ, बुहारी भावना वरुवाल र बुहारी सञ्चालक रहेको फरेष्ट एण्ड इन्भारोमेन्ट रिसर्च अर्गनाइजेशन प्रालिको नाममा लुकाएको पाइएको जनाएको छ ।
श्रेष्ठविरुद्ध प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद सजाय, बिगो दरिवाना र गैरकानुनी रूपमा आर्जन गरिएको सम्पत्ति जफत गर्न माग राखी अख्तियारले सोमबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ ।