रौतहट । शंकर साह बनिया हत्या प्रकरणमा संलग्न दुई जनालाई जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ ।
जिल्ला न्यायाधीश शम्भु प्रसाद रेग्मीको एकल इजलासले आइतबार थुनछेक बहसपछि फतुवा विजयरपुर नगरपालिका–२ सितलपुरका ४३ वर्षीय वरिष्ठ हवल्दार विनोद भन्ने हरदेव राय यादव र ६० वर्षीय कपिलदेव यादवलाई थुनामा पठाउने आदेश दिएको हो ।
अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७(१) बमोजिम उनीहरूलाई तत्काल निर्दोष भन्न नसकिने ठहर गरेको उपसचिव केशरनाथ अर्यालले जानकारी दिएका छन् ।
गत असोज २६ गते जग्गा विवादका क्रममा कुटपिटबाट शंकर साह बनियाको मृत्यु भएको थियो । घटनापछि प्रहरीले अनुसन्धान अघि बढाउँदै दुवै आरोपीलाई पक्राउ गरी अदालतमा पेश गरेको थियो ।
थुनछेक बहसकै दिन न्यायको माग गर्दै पीडित परिवार र स्थानीयवासीले जिल्ला अदालत गौरको मुख्य गेटमा बिहान ११ बजेदेखि साँझसम्म धर्ना दिएका थिए । उनीहरूले दोषीमाथि कडा कारबाही र बाँकी फरार चार अभियुक्तलाई तत्काल पक्राउ गर्न माग गरे ।