एजेन्सी । भारतीय सिनेमाका दिग्गज अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन भएको छ ।
श्वासप्रश्वासमा समस्या देखिएपछि सोमबार मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको उनको अवस्था गम्भीर बनेपछि चिकित्सक टोलीले भेन्टिलेटरमा राखेको थियो ।
तीन दिनसम्म जीवन र मृत्युबीच संघर्ष गरेका धर्मेन्द्रलाई बचाउन चिकित्सकले गरेको प्रयास असफल बनेको हो ।
भारतीय सञ्चार माध्यमका अनुसार अस्पतालमा भर्ना भएपछि पहिलो ७२ घण्टा निकै संवेदनशील मानिएको थियो । देओल परिवारको नजिकका स्रोतले उनका छोरीहरूलाई विदेशबाट तत्काल मुम्बई बोलाइएको जानकारी दिएका छन् ।
शाहरुख खान, सलमान खान, अमिताभ बच्चन, हेमा मालिनीलगायत बलिउडका दर्जनौं कलाकार सोमबार राति ब्रीच क्यान्डी अस्पताल पुगेका थिए। धर्मेन्द्रको निधनको खबर फैलिँदासँगै फिल्म उद्योग र उनका प्रशंसकहरू शोकमा डुबेका छन्।
धर्मेन्द्रले ‘शोले’, ‘सीता और गीता’, ‘चुपके चुपके’, ‘धरम वीर’, ‘यादों की बारात’ लगायत सयौं चर्चित चलचित्रमा अभिनय गर्दै भारतीय फिल्म उद्योगमा अपार योगदान पुर्याएका थिए । उनी बलिउडका ‘हे–म्यान’ भनेर समेत चिनिन्थे।
बलिउड इतिहासमा धर्मेन्द्रको नाम एउटा युगका रूपमा सम्झिने गरिएको छ ।