काठमाडौं । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको बच्कना कार्यशैलीबाट आजित भएर सहसचिव सुवास शिवाकोटी संचार तथा सूचना प्रबिधि मन्त्रालयमा सरुवा भएका छन् ।
उनी युवा मन्त्रीसँग खटपट भएपछि मागेरै सरुवा भएका हुन् । दोलखाका शिवाकोटी संचार मन्त्री जगदिश खरेल उतैका भएकाले अनुरोध गरेरै संचारमा पुगेका हुन् ।
शुक्रबार साँझ सरुवाको सूचीमा पर्नुभन्दा अघि कार्यालय समयमा मन्त्री गुप्ताले सहसचिव शिवाकोटीलाई अमर्यादित गालीगलौज गरेका थिए ।
मन्त्रालयको कामको बिषयलाई लिएर गालीगलौजमा उत्रिएको मन्त्री र उनको टीमले तत्काल सरुवा हुन र नभए जे पनि हुन सक्ने शैलीमा धम्की दिएपछिा शिवाकोटी खरेलसँग लाइन मिलाएर सरुवा भएका छन् ।
जेनजी आन्दोलनपछि अघोषित रुपमा संचालनमा रहेको जेनजी कर्मचारीको उनी ग्रान्ड डिजाइनरसमेत थिए । उनले नै जेनजी कर्मचारी गठन गर्न सबै तारतम्य मिलाएको आरोप छ । जेनजी कर्मचारी समूहको संरक्षक रहेका उनी आफैं उमेरले पनि यो सरकारका जेनजी मन्त्रीबाटै पीडित भएर सरुवामा परेका छन् ।
जनेजी आन्दोलनपछि निजामती प्रशासनको भूमिका र शैलीका बारेमा सामाजिक संजालमार्फत् अर्ति उपदेश दिंदैआएका शिवाकोटी अर्थमन्त्रालय वा उद्योग मन्त्रालय सरुवा भएर एक बिभागको महानिर्देशक हुने दाउमा रहेका थिए ।
तर, जेनजी मन्त्रीकै कोपभाजनमा परेपछि उनी गृहजिल्लाबासी मन्त्री खरेलसँग गुहार मागेर संचारमा सेटल हुनुपरेको छ । गुप्तासँग जति तिक्तता भए पनि औपचारिक बिदाइपछि उनीसँगै सामूहिक तस्वीर खिचाएर आइतबार रमाना लिएर युवा मन्त्रालयबाट बिदा भएका छन् ।
उनी संचार मन्त्रालयमा रिक्त रहेको प्रशासन महाशाखाको प्रमुख हुने संभावना छ । संचारको प्रशासन महाशाखाका सहसचिव कोषहरि निरौलाको कोशी प्रदेशमा सरुवा भएपछि रिक्त रहेको छ ।
युवा तथा खेलकुद मन्त्रालयको योजना शाखाका उपसचिव शंकर पाठक युवा प्रबद्र्धन शाखामा सरुवा भएका छन् ।मन्त्री गुप्ताकै निर्देशनमा उनलाई सचिव डा. हरि लम्सालले शाखा परिवर्तन गरेका छन् ।
सो शाखामा उपसचिव भुवनेश्वर पोखरेललाई पठाइएको छ । नुवाकोटका उपसचिव पाठक अर्थमन्त्री डा. प्रकाशशरण महत त्यहाँ बसेर रजगज गरेर खेलकुदमा सरुवा भएका थिए । पाठक टोखा नगरपालिकामा समेत प्रमुख प्रशासकीय अधिकृत भएर कुस्त कमाउनेमा पर्दछन् ।