दैलेख । दैलेखमा प्रहरी चौकी जम्बुकाँधका इन्चार्ज असई धनसिंह ठकुरीमाथि तीन जनालाई कुटपिट गरेको आरोप लागेको छ ।
जिल्लाको चामुण्डाबिन्द्रासैनी नगरपालिका–५ घर भएका प्रकाश थापा र वडा नम्बर ८ घर भएका लोकेश बुढा र वडा नम्बर ४ घर भएका सुशील शाहीलाई असई ठकुरीले कुटपिट गरेको आरोप लागेको हो ।
पीडित पक्षका अनुसार बिहीबार साँझ घरतर्फ जाँदै गरेका ती युवालाई मदिरा सेवन गरेको भन्दै नियन्त्रणमा लिएर चौकीमै कुटपिट गरिएको आरोप छ ।
कुटपिटकै कारण घाइते भएका थापा र बुढाको उपचारका लागि स्थानीय र प्रहरीले समन्वय गरी स्वास्थ्य संस्थामा लगिएको थियो । स्थानीयले प्रहरी चौकी घेराउ गर्दै असई ठकुरीलाई तत्काल कारबाहीको माग गरेका छन् ।
उनीहरूले प्रहरीले मानवअधिकार हनन गरेको, युवाहरूलाई विनाकारण कुटपिट गरेको र असई ठकुरीले मदिरा सेवन गरी यो घटना गराएको आरोप लगाएका छन् ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख (डीएसपी) गणेश बरालले घटनाको अनुसन्धान भइरहेको छ । गलत देखिए चौकी इन्चार्जमाथि अनुसन्धान गरी कारबाही गरिने उनले बताए ।