महोत्तरी । प्रतिनिधिसभा निर्वाचनको माहोल तातेका बेला महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेदवार रामआधार कापरमाथि गएराति निर्घात कुटपिट भएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक हेरम्ब शर्माका अनुसार जलेश्वर नगरपालिका–७ मा अज्ञात समूहले कापरमाथि आक्रमण गरेको हो ।
आक्रमणबाट कापरको छाती, पिठ्युँ तथा शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ। घटनालगत्तै उनले सहयोगका लागि प्रहरीलाई खबर गरेका थिए।
प्रहरी टोलीले तत्कालै उद्धार गरी उपचारका लागि जनकपुरस्थित अस्पताल पठाएको एसपी शर्माले बताए।
हाल उनको जनकपुरमा उपचार भइरहेको छ र अवस्था खतरामुक्त रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
प्रहरी घटनास्थलमा पुग्दा आक्रमणकारी फरार भइसकेका थिए।