मकवानपुर। मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
जिल्लाको भीमफेदी गाउँपालिका-१ बुङदलमा बा.प्र.०३-००५ प ७९८० नम्बरको मोटरसाइकल दुर्घटना भएको हो ।
मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ चौकीटोलका ३९ वर्षीय वीरबहादुर गुरुङ चालक र पूर्वनवलपरासीको कावासेती-१३ घर भई हेटौँडा-२ चौकीटोल डेरा गरी बस्ने ३५ वर्षीय चन्द्रबहादुर गुरुङ छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आइतबार बिहान करिब सात बजे स्थानीयले बुङ्दल खोलाको पुलबाट करिब ५० मिटर खसेको अवस्थामा मोटरसाइकल र अचेत दुई व्यक्ति देखेपछि प्रहरीलाई खबर गरेको थिए।
स्थानीयको सूचनापछि इलाका प्रहरी कार्यालय चौकीटोलबाट प्रहरी घटनास्थल पुग्दा दुवैजनाको मृत्यु भइसकेको थियो। दुर्घटनास्थलको प्रकृति हेर्दा घटना शनिबार रातिको समयमा भएको अनुमान गरिएको छ।
मोटरसाइकल पश्चिम सुपारेटार ब्यारेकबाट पूर्व सामरी धादिङ तर्फ गइरहेको प्रहरीको अनुमान छ। दुवै शव पोष्टमार्टमका लागि हेटौँडा अस्पताल ल्याइएको छ।