काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् ।जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले प्रसाईंलाई गएराति पक्राउ गरेको हो ।
भक्तपुरस्थित उनकै निवासबाट प्रसाईंलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सुरक्षा व्यवस्थालाई भड्काउने अभिव्यक्ति दिएपछि गएराति १० बजेतिर पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनी परिसरकै हिरासतमा छन् ।
उनीमाथि हिंसा भड्किने अराजक गतिविधि गर्ने अभिव्यक्ति दिएको आरोप छ । हिजो दिउँसो मात्र प्रसाईंले सिहदरबार, सर्वोच्च अदालतमा कसरी आगो लाग्यो ? ७५ जनाको ज्यान कसरी गयो ? मल्ल होटल अगाडि गाडीभित्र बसेर क(कसको कुरा भएर प्रधानमन्त्री चुनियो ? बानेश्वरको कुन घरको छतमा बसेर जेनजी आन्दोलनको अप्रेशन गरिएको थियो ? भनेर विशेष भिडियो सार्वजनिक गरेका थिए । उनले मंसिर ७ गतेबाट आन्दोलनको तयारी गरेका थिए ।
प्रसाईंका समर्थकले मंगलबार बिहानदेखि पक्राउको विरोधमा प्रदर्शन गर्नसक्ने अनुमान गर्दै प्रहरीले सुरक्षा सतर्कता बढाएको छ । यसअघि २०८१ चैत १५ को हिंसात्मक आन्दोलनपछि पक्राउ परेका प्रसाईं अदालतको आदेशमा छुटेका थिए ।