काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा प्रतिबन्धित अनलाइन जुवा–सम्बन्धी साइट ‘डाफा न्यूज’ को विज्ञापन खुलेआम राखिएको छ ।
विज्ञापन बोर्डको निर्देशन विपरित क्यानले एनपीएलमा त्रिवि क्रिकेट रंगशालामा ठूलो ब्यानरमार्फत ‘डाफा न्यूज’ को विज्ञापन राखेको हो । उक्त विज्ञापन, विगतमा जुवा साइटहरूको प्रचारका कारण बारम्बार विवादमा परेको थियो ।
विज्ञापन बोर्डले १ भदौमै नेपाल क्रिकेट संघ (क्यान)लाई आधिकारिक पत्रमार्फत ‘डाफा न्यूज’ लगायत जुवा/बेटिङ साइटको विज्ञापन नगर्न निर्देशन दिएको थियो ।
पहिलो संस्करणको एनपीएलमा वानएक्सबेट, वुल्फ ७७७, डाफा न्यूजजस्ता विदेशी जुवा साइटका विज्ञापन खेलाडीका जर्सीदेखि सम्पूर्ण मैदानमा फैलिएको देखिएपछि ठूलो विवाद चर्किएको थियो । सोही उजुरीका आधारमा क्यानले २६ साउन २०८२ मा दिएर पठाएको स्पष्टीकरण विज्ञापन बोर्डले अस्वीकार गरेको थियो ।
उता, अनलाइन जुवा साइटका विज्ञापन गराउने दुई कम्पनी ब्राण्ड डिजिटल लजिक प्रालि र टिसिएस स्पोस्टर्स एण्ड मार्केटिङ प्रालिलाई बोर्डले जनही १०/१० हजार रुपैयाँ जरिवाना गरेको थियो। साथै, तीन महिनासम्म कुनै पनि प्रकारका विज्ञापन तथा सूचना प्रवाह गर्न रोक लगाइएको थियो।
तर अहिले पुनः सोही डाफा न्यूज को विज्ञापन एनपीएलमै देखिनु क्यानले विज्ञापन बोर्डको निर्देशनलाई बेवास्ता गरेको प्रष्ट देखिएको छ । यस विषयमा विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले बेटिङ साइटको विज्ञापन भएको रहेछ भने तुरुन्तै पत्र काटेर कारबाही प्रक्रिया अघि बढाउने बताएका छन् ।

क्यानका सचिव पारस खड्काले बेटिङ साइट र रक्सीका विज्ञापन हटाउन नमानेको स्रोत बताउँछ । सोही कारण खेलकुदमन्त्री बब्लु गुप्ता एनपिएलको उद्घाटनमा नगएको बताइएको छ । एनपिएल-२ को उद्घाटनमा प्रधानमन्त्री सुशीला कार्की मात्रै गएकी थिइन् ।
तर यति भव्य रूपमा सुरु भएको लिगमा खेलकुदमन्त्री नै अनुपस्थित हुनु आफैँमा अर्थपूर्ण हो । क्यानका सचिव खड्काले बेटिङ साइट र रक्सीका विज्ञापन हटाउन नमानेपछि मन्त्री बब्लु असन्तुष्ट रहेको स्रोत बताउँछ । तर मन्त्री बब्लुले काठमाडौं बाहिर भएकाले लिगको उद्घाटनमा सहभागी हुन नपाएको सन्देश पठाएको खुलेको छ ।