काठमाडौं । जेनजी समूहले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले जन अपेक्षा अनुरुप काम गर्न नसकेको भन्दै फिर्ता बोलाउन माग गरेका छन् ।
बिहीबार जेनजीले वर्तमान सरकारले केवल चुनाव मात्रै गराउने कुरा स्वीकार्य नहुने भन्दै तत्काल प्रधानमन्त्रीलाई फिर्ता बोलाउन माग गर्दै राष्ट्रपति रामचन्द्र पौडेल समक्ष ज्ञापनपत्र बुझाएका हुन् ।
उनीहरूले आन्दोलनमा दमन गर्नेमाथि कारबाही, घाइतेको उपचार र शहीद परिवारलाई उचित क्षतिपूर्ति दिनेबारे न्यूनतम अपेक्षा समेत पूरा नभएको भन्दै कार्की नेतृत्वको सरकारलाई फिर्ता बोलाएर आफूहरूको नेतृत्वमा सरकार बनाउन मध्यस्थता गरिदिन राष्ट्रपतिलाई आग्रह गरेका छन् ।
ज्ञापनपत्रमा भनिएको छ- 'विद्रोहको जगमा बनेको सरकारले विद्रोहीको न्यूनतम अपेक्षा पूरा गर्नुको सट्टा सबै अपेक्षालाई बेवास्ता गर्दै केवल एक थान चुनाव मात्र गराउने गरी सरकार दिशाहीन अवस्थामा रहेको पाइयो, ‘यो विद्रोह र शहादत केवल अर्ली इलेक्सनको लागि भएको थिएन ।'
सरकारबाट प्रत्यक्ष जननिर्वाचित प्रधानमन्त्रीका लागि संविधान संशोधन र ठुला भ्रष्टाचार प्रकरणमा संलग्नलाई कारबाहीलगायतका अपेक्षा गरिए पनि सरकार चुनावमा मात्र केन्द्रीत भएको जेनजीको गुनासो छ ।
उक्त ज्ञापनपत्र बुझाउनेमा जेनजी नेशनल फ्रन्ट लाइनर,जेनजी स्पार्क,एनटेक जेनजी, ऋणी एसोसिएसन,जेनजी वाई युनाइटेडल गरि २३ वटा जेनजी समूहहरू रहेका छन् ।
