Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बारामा जिल्ला सुरक्षा समिति र जेनजी समूहबीच वार्ता जारी, सुदन गुरुङ गएनन्

बारामा जिल्ला सुरक्षा समिति र जेनजी समूहबीच वार्ता जारी, सुदन गुरुङ गएनन्

शुक्रवार , मंसिर ५, २०८२

काठमाडौं । बाराको सिमरामा एमाले कार्यकर्ता र जेनजी समूहबीच बुधबार भएको झडपपछि उत्पन्न तनाव साम्य पार्न अहिले जिल्ला सुरक्षा समिति बारा र मधेस जेनजी समूहबीच वार्ता सुरू भएको छ।

जितपुर सिमरा उपमहानगरपालिका–३ को पथलैयास्थित सशस्त्र प्रहरी कार्यालयमा वार्ता सुरू भएको हो ।

बिहीबार नै वार्तामा बस्ने भनिए पनि जेनजी समूह नगएपछि रोकिएको थियो । जिल्ला प्रशासन कार्यालय बाराले वार्तामा डाके पनि जेनजी समूहले बुधबार आफूहरूमाथि कुटपिट गर्ने मुख्य व्यक्ति अरविन्द साहलाई पक्राउ नगरेसम्म वार्ता नगर्ने अडान लिएका थिए।

प्रहरीले बिहीबार राति साहलाई पक्राउ गरेपछि जेनजी समूह वार्तामा बस्न राजी भएको हो।

साह पक्राउ परेसँगै आज विहानै वार्ता गर्ने तय भएको थियो । उनीहरुले भदौ २३ र २४ को आन्दोलनपछि जेनजी नेता बनेका सुदन गुरुङ र मन्त्री बब्लु गुप्तालाई कुरिरहेका थिए । तर, गुप्ता र गुरुङले मधेस जेनजीलाई धोका दिएपछि अन्ततः उनीहरु आफै वार्तामा बसेका हुन् ।

वार्ताका लागि प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रसहित जिल्ला सुरक्षा समितिका सदस्यहरू आएका छन्।

यही घटना मिलाउन भन्दै युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको नेतृत्वमा सुदन गुरूङ, शिव यादव लगायतको टिम बिहीबारै काठमाडौंबाट जनकपुर गएको थियो। उनीहरूले बिहीबार राति सिमराका आन्दोलनरत जेनजीहरूसँग कुराकानी गरी वार्ताको माहोल बनाएका थिए।

त्यसैले पनि जेनजी युवाहरु वार्ताका लागि उनीहरुलाई कुरिरहेका थिए । तर, गुप्ता र गुरुङ नगएपछि उनीहरु आफै वार्तामा बसेका हुन् । मन्त्री गुप्ता जनकपुरबाटै काठमाडौं फर्किसकेका छन् भने सुदन गुरूङ उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री कुलमान घिसिङसँग विहानैदेखि सँगै हिडिरहेका छन् ।

सबैभन्दा अचम्म लाग्दो कुरो त के छ भने जेनजी युवाकै बलमा गृहमन्त्री बनेका ओमप्रकाश अर्यालको राजीनामा माग्दै गाएका हामी नेपाल नामक संस्थाका प्रमुख सुदन गुरुङ अहिले घिसिसँग नजिकिएका छन् ।

करिब १४ वर्ष पुग्दासमेत निर्माण हुन नसकेको हुलाकी राजमार्गअन्तर्गत सिराहा र धनुषा जोड्ने कमला नदीको पुलको स्थलगत अनुगमनमा मन्त्री घिसिङ, युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्मा, सडक विभागका महानिर्देशक विजय जैशी, सुदन गुरुङलगायत पुगेका थिए ।

त्यहाँ पुगेका गुप्ता र गुरुङ वार्तामा नगएपछि जेनजी युवाहरु आक्रोशित बनेका छन् । गृहमन्त्रीको राजीनामा माग्ने र उर्जामन्त्रीसँग सम्बन्ध विस्तार गर्ने गुरुङको चाल बुझिनसक्नुको छ ।

उर्जामन्त्री घिसिङ पनि गृहमन्त्री अर्यालले राजीनामा आएको हेर्न चाहन्छन् । त्यसैले पनि उनले गुरुङलाई साथ दिएको उनकै निकटस्थहरुले बताउने गरेका छन् ।

वार्ताका लागि पठाएका घिसिङको गतिविधिबाट प्रधानमन्त्री सुशीला कार्की समेत सशंकित बनेकी छन् । बाहिर हेर्दा घिसिङ निरीक्षणमा गएको भएपनि भित्री उद्देश्य भने वार्तामा जानु नै रहेको स्रोत बताउँछ ।

बुधबार जेनजी समूहलाई एमाले कार्यकर्ताले कुटपिट गरेको भन्दै प्रदर्शन र तोडफोड भएको थियो। स्थिति साम्य पार्न कर्फ्यू लगाउनुपरेको थियो।

त्यही तनावले बिहीबार पनि निरन्तरता पायो। प्रहरी र जेनजी प्रदर्शनकारीहरूबीच झडप हुँदा हवाई फायर र अश्रुग्यास प्रहार गर्नुपरेको थियो। केही प्रहरी र जेनजी युवा घाइते भएका थिए। झडपका कारण बिहीबार पनि कर्फ्यू लगाउनुपरेको थियो।

कर्फ्यूकै बीच जेनजी प्रदर्शनकारीले सडक आवागमन ठप्प पारेका थिए। जेनजी समूहले बुधबारको घटनामा आफूहरूमाथि कुटपिट गर्ने सात जनाविरूद्ध प्रहरीमा जाहेरी दिएका थिए। तीमध्ये दुई जनालाई बिहीबार पक्राउ गरिएको थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077