बारा । सिमरामा जेनजी प्रदर्शनका कारण उत्पन्न परिस्थितिलाई सहज बनाउने प्रयासस्वरुप वार्ता सुरु भएको छ ।
तीन दिनदेखि आन्दोलनमा उत्रिएका जेनजी र स्थानीय प्रशासनबीच पथलैया वार्ता सुरु भएको हो ।
जिल्ला सुरक्षा समिति मार्फत दुवै पक्षले पथलैयाको सशस्त्र प्रहरीको ब्यारेकमा वार्ता गर्न लागेका छन् ।
उक्त बैठकमा जेनजीहरुको तर्फबाट सम्राट उपाध्याय, कपिल खरेल र कुर्णाल गिरी लगायत १५ प्रतिनिधिको उपस्थिति रहेको छ ।
यसैगरी सरकारका तर्फबाट प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र, नेपाल प्रहरीका एसपी सन्तोष तामाङ, सशस्त्र प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धान विभागका जिल्ला प्रमुख र जीतपुर सिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेललगायत वार्तामा सहभागी छन् ।
जेनजीले कुटपिटमा संलग्न व्यक्तिमाथि कुनै पनि दबाबमा नरही कारबाही हुनुपर्ने, घाइतेहरूको निःशुल्क उपचार र उचित क्षतिपूर्ति दिनुपर्ने, जेन–जी र पक्षधरको सुरक्षाको ग्यारेन्टी हुनुपर्ने, सुरक्षा व्यवस्थापनमा लापरबाही गर्ने प्रहरी अधिकारीलाई कारबाही गर्नुपर्नेलगायतका माग अघि सारेका छन्।
बुधबार बारा जान लागेका एमाले महासचिव शंकर पोखरेल र पोलिटब्युरो सदस्य महेस बस्नेतलाई अवरोध गर्न पुगेका जेनजीलाई एमाले कार्यकर्ताले कुटपिट गरेका थिए । एमाले कार्यकर्ताले कुटपिट गरेपछि अवस्था नियन्त्रणबाहिर जाने जोखिम देखिएपछि स्थानीय प्रशासनले सो क्षेत्रमा निषेधाज्ञा (कर्फ्यू) आदेश जारी गरेको थियो।
थप विरोध र तोडफोड हुनसक्ने भन्दै जिल्ला प्रशासन कार्यालय बाराले बिहीबार पनि कर्फ्यू आदेश जारी गरेको थियो ।
कर्फ्युको अवज्ञा गर्दै जेनजी प्रदर्शनकारी सकडमा उत्रिएपछि स्थिति नियन्त्रणमा लिन चार राउन्ड अश्रु ग्यासर २ राउण्ड हवाई फायर समेत गरिएको थियो ।
प्रदर्शन नियन्त्रणमा लिने क्रममा एक डीएसपी, इन्स्पेक्टर, असई, हवल्दार र ४ जना जेनजी समेत घाइते भएका छन् ।
कुटपिटमा संलग्न जितपुर सिमरा २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ, ६ का वडाध्यक्ष कैमद्विन अन्सारी, र स्थानीय कार्यकर्ता अरबिन्द साहलाई प्रहरीले पक्राउ गरिसकेको छ ।