बारा। सिमरामा उत्पन्न अशान्त परिस्थितिलाई सहज बनाउने प्रयासस्वरुप प्रशासन र जेनजीबीच अहिले छलफल जारी छ।
तीन दिनदेखि आन्दोलनमा उत्रिएका जेनजी र स्थानीय प्रशासनबीच सशस्त्र प्रहरी बल नेपाल प्राविधिक तालिम शिक्षालय पथलैयामा छलफल चलिरहेको हो ।
जेनजीका तर्फबाट १५ प्रतिनिधिको उपस्थिति रहेको उक्त बैठकमा सुदन गुरुङ पनि सहभागी भएका छन् ।
यसैगरी सरकारका तर्फबाट प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र, नेपाल प्रहरीका एसपी सन्तोष तामाङ, सशस्त्र प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धान विभागका जिल्ला प्रमुख र जीतपुर सिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेललगायत वार्तामा सहभागी छन् ।
जेनजीले कुटपिटमा संलग्न व्यक्तिमाथि कुनै पनि दबाबमा नरही कारबाही हुनुपर्ने, घाइतेहरूको निःशुल्क उपचार र उचित क्षतिपूर्ति दिनुपर्ने, जेन–जी र पक्षधरको सुरक्षाको ग्यारेन्टी हुनुपर्ने, सुरक्षा व्यवस्थापनमा लापरबाही गर्ने प्रहरी अधिकारीलाई कारबाही गर्नुपर्नेलगायतका माग अघि सारेका छन्।

बुधबार जेनजी समूहलाई एमाले कार्यकर्ताले कुटपिट गरेको भन्दै प्रदर्शन र तोडफोड भएको थियो। स्थिति साम्य पार्न कर्फ्यू लगाउनुपरेको थियो।
त्यही तनावले बिहीबार पनि निरन्तरता पायो। प्रहरी र जेनजी प्रदर्शनकारीहरूबीच झडप हुँदा हवाई फायर र अश्रुग्यास प्रहार गर्नुपरेको थियो। केही प्रहरी र जेनजी युवा घाइते भएका थिए। झडपका कारण बिहीबार पनि कर्फ्यू लगाउनुपरेको थियो।
कर्फ्यूकै बीच जेनजी प्रदर्शनकारीले सडक आवागमन ठप्प पारेका थिए। जेनजी समूहले बुधबारको घटनामा आफूहरूमाथि कुटपिट गर्ने सात जनाविरूद्ध प्रहरीमा जाहेरी दिएका थिए।

कुटपिटमा संलग्न जितपुर सिमरा २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ, ६ का वडाध्यक्ष कैमद्विन अन्सारी, र स्थानीय कार्यकर्ता अरबिन्द साहलाई प्रहरीले पक्राउ गरिसकेको छ ।
बुधबार एमाले नेता-कार्यकर्ताले केही जेनजी युवालाई कुटपिट गरेपछि चर्किएको विवादले दुई दिनदेखि बारा अशान्त छ ।