काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले ‘ह्याट्रिक’ जित निकालेको छ ।
सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कर्णाली याक्सलाई ४५ रनले पराजित गर्दै सुदूरपश्चिमले लगातार तेस्रो जित दर्ता गरेको हो।
सुदूरपश्चिमले दिएको १४० रनको लक्ष्य पछ्याएको कर्णाली १९ ओभर २ बलमा ९४ रनमा अलआउट भयो ।
कर्णालीका पवन सर्फले २७ र मार्क वाटले १७ रन बनाए । सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले ४ विकेट लिए । यस्तै हर्मित सिंह र अविनाश बोहराले समान २ विकेट लिए ।
त्यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३९ रन बनायो ।
सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले ३९ रन बनाए । कर्णालीका कप्तान सोमपाल कामीले ३ विकेट लिए ।
लगातार तीन खेल जितेको सुदूरपश्चिम अङ्क तालिकाको दोस्रो र तीनमा एक खेल जितेको कर्णाली छैटौं स्थानमा यथावत् छ ।