काठमाडौं । जेनजी आन्दोलनको मुख्य एजेन्डा थियो, भ्रष्टाचारको अन्त्य । तर जेनजीले डिस्कर्डमा भोटिङ गरेर बनाइएकी प्रधानमन्त्री सुशीला कार्की भ्रष्टाचारीकै घेरामा पर्दै गएकी छन् ।
डिम्ब तस्करीमा महान्यायाधीवक्ता सबिता भण्डारीको संलग्नता देखिए पनि कारबाही नगरी मौन रहनु र प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठले श्रीमतीदेखि आफन्तलाई प्रधानमन्त्री कार्यालमा भर्ति गर्नुले कार्की नै भ्रष्टाचारीको घेराबन्दीमा परेकाले पुष्टि भएको छ ।
नायब सुब्बास्तरका करारका कर्मचारी श्रेष्ठ सर्वोच्च अदालतमा कार्की प्रधानन्यायाधीश छँदादेखि नै मुद्दाको सेटिङ गर्ने, कजलिष्टमा चलखेल गर्ने धन्दामा पोख्त थिए ।
बालुवाटारमा प्रमुख स्वकीय सचिवको हैसियतमा प्रवेश गरेपछि श्रेष्ठले आफूलाई प्रधानमन्त्रीकै तहमा राखेर सरुवा, बढुवामा आतंकमात्र मच्चाएनन्, मुख्यसचिव र प्रहरीको आईजीपी नै आफैं बनाउन बाहिर बाहिर डिल गर्न थालेको समेत चर्चा भयो ।
यतिसम्म कि गृह र प्रहरीका उच्च अधिकारीलाई प्रधानमन्त्रीको आदेश भन्दै निर्देशन दिएर आफ्ना स्वार्थपूर्ति गर्ने गरेको गृहमन्त्रालयका एक अधिकारी बताउँछन् ।
श्रेष्ठले जति चलखेल गरे पनि प्रधानमन्त्री कार्कीले मुख्यसचिव र आईजीपीमा भने बरिष्ठता अनुसार नै नियुक्ति गरेर श्रेष्ठको सेटिङलाई भत्काइदिएकी छन् ।
सरकारी कर्मचारीको सरुवादेखि ठेक्कापट्टामा बिचौलियाहरुले घेराबन्दीमा पारी आदर्श श्रेष्ठमार्फत् कृष्णहरि पुस्कर जस्ता बिवादित सचिवलाई मुख्यसचिव बनाउन खोजेका थिए । तर उनीहहरुको प्रयास सफल हुन सकेन । पुस्करलाई मुख्यसचिव बनाउन बिचौलिया दीपक भट्टसमेत सक्रिय भएर लागेका थिए ।
पुस्करलाई मुख्यसचिव बनाउन बैदेशिक रोजगार बिभागका महानिर्देशक कमल भट्टराई पनि सक्रिय रुपमा लागेका थिए । उनले त्यसका लागि वातावरण बनाउन केही मिडियासमेत परिचालन गरेका थिए ।
पुस्कर जुन मन्त्रालयमा जान्छन्, त्यही मन्त्रालयमा भट्टराईलाई लाने गरेका छन् । पुस्करले जनार्दन शर्मा अर्थमन्त्री हुँदा अर्थमन्त्रालयमा भट्टराईलाई सँगै लगेर भन्सार बिभागको महानिर्देशक बनाएका थिए ।
अर्थमन्त्रालयबाट सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएका पुस्करले भट्टराईलाई सँगै लगेर कर्मचारी प्रशासन महाशाखा प्रमुख बनाई कर्मचारी सरुवामा सेटिङ गरेका थिए ।
पुस्करको कृपाप्राप्त कमल भट्टराईले भन्सार बिभागको महानिर्देशक हुँदा भैरहवा, बीरगंज, बिराटनगर, रसुवा, नेपालगंज, काँकडभित्ता भन्सारमा दरबन्दी भन्दा दोब्बर संख्यामा नायबसुक्बा र अधिकृतको सरुवा गरी भद्रगोल मच्चाएका थिए ।
कार्यालय सहयोगीदेखि नायबसुब्बाको सरुवा गर्दा दररेट तय गर्दै गरेको आरोप उनीमाथि लागेको थियो । उनीपछि आएका भन्सार बिभागका महानिर्देशक चक्रबहादुर बुढाले दरबन्दीभन्दा बढी कर्मचारीलाई फिर्ता गरेर भट्टराईको सेटिङ तोडेका थिए ।
पैसा असुल्दै पठाइएकाहरुलाई फिर्ता गर्न थालेपछि सामान्य प्रशासन मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुख रहेका कमल भट्टराईले बुढाको सरुवा हुन लागेको भन्दै तर्साउनसमेत पछि नपरेको सामान्यकै एक कर्मचारी बताउँछन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएपछि पुस्कर र भट्टराईले कर्मचारी सरुवामा समेत ठूलो आर्थिक चलखेल गरेको लागेको थियो ।
तत्कालीन सामान्य सचिव पुस्कर र सहसचिव कमल भट्टराईले कर्मचारी सरुवामा भित्र्याएको आर्थिक चलखेलले संस्थागत रुप लिन पुगेको छ । र, त्यसपछि सामान्यमा जो मन्त्री भए पनि सरुवा विवादमा पर्दैआएका छन् ।
श्रममा सरुवा भएपछि सामान्यमा हुँदा सरुवा सेटिङमा साथ दिएका आफ्ना निकट सहसचिव कमल भट्टराईलाई पुनः आफूसँगै ल्याए । र, भट्टराईलाई श्रमको भन्सारका रुपमा चिनिएको बैदेशिक रोजगार बिभागको महानिर्देशक बनाएका छन् । बैदेशिक रोजगार बिभागमा दैनिक हुने लाखौंको घुस कारोबारमा पुस्करसम्मको सिन्डीकेट छ ।
दिवंगत आफ्ताव आलम श्रममन्त्री हुँदा नै पुस्कर मन्त्रालयमा उपसचिव थिए । आफ्तावको विश्वासपात्रका रुपमा बैदेशिक रोजगार बिभागमा कर्मचारी सरुवामा दररेट असुली गर्ने गरेको आरोप उनीमाथि लागेको थियो ।
टेकबहादुर गुरुङ श्रम राज्यमन्त्री हुँदा बैदेशिक रोजगार बिभागको महानिर्देशक भएका उनी त्यहाँ हुने अथाह लाभका पूर्णतः जानकार भएरै विश्वासपात्र कमल भट्टराईलाई पठाएका छन् ।