काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा साविक उपविजेता सुदूरपश्चिम रोयल्सले लगातार चौथो जित हात पारेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार सुदूरपश्चिमले लुम्बिनी लायन्सलाई ७ विकेटले पराजित गरेको हो।
जितसँगै सुदूरपश्चिम प्लेअफनजिक पुगेको छ । प्रतियोगितामा चौथो खेल खेल्दा लगातार तेस्रो हार व्यहोरेको लुम्बिनीको भने प्लेअफ सम्भावना कठिन बनेको छ ।
लुम्बिनीले प्रस्तुत गरेको १४४ रनको मध्यम लक्ष्य सुदूरपश्चिमले १८.२ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमका विनोद भण्डारीले नटआउट ६९, आरिफ शेखले ३९ रन बनाए ।
लुम्बिनीका रुबेन ट्रम्पेलमान, अभिशेष गौतम र तिलक भण्डारीले १र१ विकेट लिए । यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको लुम्बिनी १९ ओभर ४ बलमा १ सय ४३ रन बनाउँदा अलआउट भयो ।
लुम्बिनीका कप्तान रोहित पौडेलले ३५, दिलिप नाथले ३१ रन बनाए । सुदूरपश्चिमका अविनाश बोहरा र हर्मीत सिंहले ३/३ विकेट लिए ।