काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सविरुद्ध विराटनगर किंग्सले तीन विकेटको रोमाञ्चक जित निकालेको छ ।
कर्णालीले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको विराटनगरले १९ ओभर ५ बलमा ७ विकेट गुमाएर भेटायो ।
विराटनगरका बसिर अहमदले अविजित ६२ रन बनाए । यस्तै नारायण जोशीले २५ रन बनाए । कर्णालीका सोमपाल कामी र गुलशन झाले समान २, पवन सर्फ, विलियम वोसिस्टो र नन्दन यादवले समान १ विकेट लिए ।
त्यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ३ विकेट गुमाएर १ सय ६० रन बनायो । कर्णालीका प्रियांक पाञ्चालले ४७ बलमा ६३ रन, विलियम बोसिस्टोले ४८ बलमा नटआउट ४८ रन बनाए । विराटनगरका कप्तान सन्दीप लामिछाने र मर्चेन्ट डे लाङ्गेले समान १ विकेट लिए ।
यो जीतसँगै एनपीएल तालिकामा विराटनगर पाँच खेलमा ८ अङ्कसहित दोस्रो र कर्णाली चार खेलमा २ अङ्कसहित पाँचौ स्थानमा यथावत् छ ।