काठमाडौं । नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोयल्सले पाँचौं जित दर्ता गरेको छ । शनिबार भएको खेलमा जनकपुर बोल्ट्सलाई ६ विकेटले पराजित गर्दै सुदूरपश्चिमले प्रतियोगितामा लगातार पाँचौं जित दर्ता गरेको हो ।
योसँगै एनपीएलमा लगातार पाचौँ जित दर्ता गरेको सुदूरपश्चिम अपराजित रहँदै प्लेअफमा स्थान बनाउने पहिलो टोली बनेको छ।
जनकपुरले दिएको १ सय ४६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १७ ओभर ४ बलमा ४ विकेट गुमाएर भेटायो । सुदूरपश्चिका इसान पाण्डेले ५६ र बिनोद भण्डारीले ४२ रन बनाए । जनकपुरका माज सदक्वट २, सञ्जय कृष्णमूर्ति र आदित्य महताले समान १ विकेट लिए ।
त्यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट रङ्गशालामा टस जितेर ब्याटिङ गरेको जनकपुरले ८ विकेट गुमाएर १ सय ४५ रन बनायो ।
जनकपुरका सञ्जय कृष्णमूर्तिले ५० र जेन निकोल लफ्टि इटनले ३९ रन बनाए । सुदूरपश्चिमका अविनाश बोहराले ४, स्कट कुग्गेलिजनले ३ र दीपेन्दसिंह ऐरीले १ विकेट लिए ।
यो जीतसँगै सुदूरपश्चिम ५ खेलमा १० अङ्कसहित शीर्ष स्थानमा छ । लगातार चौथो खेलमा पराजित जनकपुर तालिकाको पुछारमा छ । एनपीएलमा आठ वटा फ्रेन्चाइज टोली सहभागी छन् ।