काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बिशेष सेवा नियमावली संशोधन गरेको छ । हालै सरकारले अध्यादेशमार्फत ऐन संशोधन गरेपछि नियमावली पनि संशोधन गरेको हो ।
ऐन र नियमावली संशोधन गरेर विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् मातहतबाट गृह मन्त्रालय मातहत लगिएको हो । कानून संशोधन नहुँदा विभागको बढुवा समेत रोकिँदै आएको थियो ।
नियमावलीमा प्रधानमन्त्री कार्यालय भनिएको ठाउँमा गृह मन्त्रालय राखेर बढुवा समिति गठन गरी रोकिएका बढुवा अघि बढाउन लागिएको छ ।
गुप्तचरमा साढे दुई महिनादेखि एआईजी पद रिक्त छ । टेकेन्द्र कार्की प्रमुखमा बढुवा भएपछि पद रिक्त भएको थियो । जसमा बढुवा हुन सकेको छैन । सो पदमा बढुवाका लागि अनुसन्धान निर्देशकहरू नौ जनाबीच प्रतिस्पर्धा छ ।
सिनियर ब्याचबाट ओम खड्का, कृष्ण ढकाल, राम दास, प्रजेश हमाल र भिम बुढाथोकी छन् । उनीहरु २१ भदौ २०७९ डीआईजी भएका हुन् ।
५ बैशाख २०८० मा डीआईजी भएका किशोर श्रेष्ठ र संजय यादबलाई पनि बढुवाका दाबेदार मानिएको छ । त्यस्तै, ११ असार २०८० मा बढुवा भएका इन्द्रसिंह लामा र माधव तिमल्सिना पनि बढुवाको लबिइङमा लागेका छन् ।
यसअघि विभागमा प्रमुख नियुक्तिमै सिनियरलाई पन्छाइएकाले एआइजी बढुवामा पनि जे पनि हुनसक्ने सम्भावना छ ।एआईजीमा बढुवा गरेपछि लगत्तै विभागमा तल्लो तहसम्मको बढुवा निकाल्ने तयारी छ ।