काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न उनले शुक्रबार दिउँसो ४ बजेका लागि सर्वपक्षीय बैठक आह्वान गरेको हो ।
प्रधानमन्त्री कार्कीले सो बैठकमा जेनजी प्रतिनिधि, सुरक्षा निकाय, निर्वाचन आयोगलगायत निर्वाचनसम्बन्धी निकायलाई पनि बोलाएकी छन् ।
आगामी फागुन २१ गतेको निर्वाचनलाई केन्द्रित गर्दै सरकारले सरोकावाला पक्षसँग निरन्तर छलफल गर्दै आएको छ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन कार्यतालिका पनि सार्वजनिक गरिसकेको छ ।
नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत साना तथा मधेश केन्द्रित दलले निर्वाचन केन्द्रित गतिविधि अगाडि बढाएका छन् ।