Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जगदुल्ला चेक काण्ड : सीइओ सापकोटापछि पूर्वमन्त्री खड्कालाई बयानमा बोलाउँदै अख्तियार

जगदुल्ला चेक काण्ड : सीइओ सापकोटापछि पूर्वमन्त्री खड्कालाई बयानमा बोलाउँदै अख्तियार

बुधवार , मंसिर २४, २०८२

काठमाडौं । १०६ मेगावाट क्षमताको जगदुल्ला जलविद्युत आयोजना निर्माणको ठेक्कामा सेटिङ मिलाउन मन्त्रालयमै चेक काण्ड मच्चाएको आरोपमा पूर्वउर्जामन्त्री दीपक खड्कालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन अगाडि बढाएको छ ।

आयोगमा पूर्वमन्त्री खड्काले उर्जाक्षेत्रमा गरेको ठेक्का अनियमिता, पदमा रहँदा पदीय दुरुपयोग गरी मन्त्रालयभित्रै गरेको अवैध चेकको कारोबार, कर्मचारी सरुवा बढुवामा रकम असुली तथा भ्रष्टाचार गरेको भन्दै उजुरी परेपछि अख्तियारले छानविन थालेको हो ।

‘अवैध चेक कारोबार र अनियमितता’मा संलग्न रहेकाले कारबाही गरिपाऊँ भनी उनीविरुद्ध जेन–जीको नाममा सोमबार उजुरी परेको थियो ।

अख्तियारसँगै अबैध सम्पत्ति थुपारेको आरोपमा सम्पत्ति सुद्धीकरण अनुसन्धान विभागले पनि खड्कामाथि छानविनको गरिरहेको स्रोतको दावी छ ।

भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा खड्काको घरमा आगजनी हुँदा स्वदेशी तथा विदेशी मुद्रा जलेको, प्रदर्शनकारीहरुले लुटेको तथा पैसा हावामा उडाइएको भिडियो भाइल भएपछि सीआईबीसँगको सहकार्यमा विभागले पहिले नै अनुसन्धान थालिसकेको थियो ।

अख्तियारमा जगदुल्ला जलविद्युत् आयोजनाको ठेक्कामा कमिसनवापत लेनदेन भएको चेकको फोटोसहित उजुरी परेको थियो । अख्तियारले सोही विषयमा अनुसन्धान अघि बढाउँदै लैजाँदा कर्मचारी सरुवा बढुवा पनि कमिशन लिएकोमा थप छानबिन गरिरहेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केही दिन अघि जगदुल्ला आयोजनालाई पत्र काटेर आयोजनामा भएको अनियमिताबारे जवाफ माग गरिसेको स्रोतको दावी छ ।

खड्काका कर्तुतका विषयमा सतर्कता केन्द्रमा पनि उजुरी परेको छ । सतर्कताले छुट्टै प्रतिवेदन तयार पारेर सरकारलाई बुझाएको र सोप्रतिवेदन पनि अख्तियार पठाइएकाले त्यसमाथि पनि अख्तियारले छानविन गरिरहेको स्रोत बताउँछ ।

खड्काकै मिलेमतोमा जगदुल्ला आयोजनामा माउन्टेन इन्फ्रा कम्पनीले भारतीय कम्पनी पटेल इन्जिनियरिङलाई दिएको तीन करोडको चेक ठेक्काको कमिसनमा बाँडफाँट भएको खुलेपछि उनको विरुद्धमा उजुरी परेको थियो ।

जगदुल्लामा आयोजना प्रमुख सञ्जय सापकोटालाई ठेकेदार कम्पनीका एजेन्टहरूसँग भेटघाट गराई खड्काले मन्त्रालयमै बसेर कमिसनबापतको चेकको लेनदेन गराएका थिए ।

अख्तियारले आयोजनाका प्रमुख सापकोटालाई बयानका लागि बोलाउने तयारी गरेको छ । सापकोटकै बयानका आधारमा खड्कालाई पनि बोलाउने अख्तियार स्रोत बताउँछ ।

खड्काले हाई हिमालय हाइड्रोका मालिक किरण मल्लसँग बिचौलिया अरुण केसीमार्फत सिक्टा आयोजनाको कमिसन लिएकोसमेत उजुरीमा दाबी गरिएको छ । मन्त्री हुँदा सिँचाइका कर्मचारीको सरुवामा घुस लिएको तथा नेपाल स्काउटको जग्गाको भाडा नतिरेको र अस्वाभाविक रूपमा अर्बको सम्पत्ति जम्मा गरेको भन्दै छानबिनको पनि माग गरिएको छ । यसअघि पनि खड्काविरुद्ध घुस लेनदेनसम्बन्धी विवादमा उजुरी परेको थियो ।

खड्का ऊर्जामन्त्री हुँदा स्वार्थ समूहलाई जलविद्युत् आयोजनाको लाइसेन्स बाँड्न आर्थिक चलखेल गरेको, आर्थिक स्वार्थकै लागि विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङसँग मनमुटाव गरेको, नेपाल स्काउटको जग्गा दुरुपयोग गरेकोलगायत विवादमा उनी तानिएका थिए ।

आफ्नो होटलमा लगेर संसदीय समितिको बैठक बसाली स्वार्थप्रेरित कानून निर्माणमा चलखेल गराएको आरोप पनि खड्कामाथि छ । उनी आफैँ पनि जलस्रोतसम्बद्ध व्यापारी हुन् । स्वार्थ बाझिने गरी खड्कालाई नै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बनाएकामा आलोचना भएको थियो ।

‘१०६ मेगावाट क्षमताको डोल्पामा बन्ने जगदुल्ला हाइड्रोपावर कम्पनीको ठेक्कामा खड्काले अनुकूलको कम्पनीलाई ठेक्का दिलाउन मन्त्रालयमा नै बोलाएर अन्य कम्पनीहरूलाई चेक दिएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ । केही दिनमै आयोजना प्रमुख सापकोटाको बयानपछि खड्कामाथि पनि आयोगले बोलाउने तयारी गरेको छ ।’ अख्तियारका एक उच्च अधिकारीले बताए ।

उजुरीमा भनिएको छ–‘केपी शर्मा ओली नेतृत्वको सरकारका सबैभन्दा विवादित र भ्रष्टाचारमा लिप्त मन्त्रीका रुपमा परिचित खड्का बिभिन्न हाइड्रोपावरका शेयरहोल्डर मात्रै छैनन्, ठूला होटलमा लगानी गरी अवैध सम्पत्ति आर्जन गरिरहेका छन् । खड्काले जगदुल्ला आयोजनामा चेक काण्ड मच्चाएर स्काउटको भ्रष्टाचारदेखि बिद्युत खरिद सम्झौता (पीपीए) र सरुवामा समेत अनियमिततामा गरेका थिए ।’

जगदुल्लाका सिइओ सापकोटाले मन्त्रीको स्वार्थ अनुसार शुरुमा शर्माले आयोजना निर्माणका लागि भाग लिएकामध्ये जेभी गरेको चिनियाँ कम्पनी जेडआईइसीलाई टेण्डर दिलाउन लविङ गरे । तर, सापकोटाले अन्तिममा चिनियाँ कम्पनी सिनो हाइड्रो तथा भारतीय कम्पनीद्वय आरभीएनएल र पटेल इन्जिनियरिङले जेभी गरेको लामा कन्स्ट्रक्सनलाई पनि टेण्डर दिलाउन छुट्टाछुट्टै डिल गरेको र त्यसपछि मन्त्रालयमै चेक काण्ड मच्चाइएको उजुरीमा उल्लेख छ ।

मन्त्री खड्का ग्यारेन्टी बसेर प्रतिस्पर्धामा रहेकामध्ये चार कम्पनीका एजेन्टलाई विभिन्न व्यक्तिको नामबाट १५ करोड रुपैयाँका दरले चेक दिएका थिए । खड्काले किरण मल्लको हाइ हिमालय हाइड्रो र एजी कम्पनीलाई ठेक्का दिलाउन चेक वितरण गरेका थिए ।

तर पछि यो ठेक्का रद्द भई चिनियाँ कम्पनी सिनो हाइड्रोले पाएपछि आफूले कमिसन पचाउन खड्काले किरण मल्लको कम्पनीलाई सिक्टा आयोजनाको ठेक्का दिलाएको दावी उजुरीमा गरिएको छ ।

त्यसो त दीपक खड्काले हालका उर्जामन्त्री कुलमान घिसिङलाई बिद्युत प्राधिकरणको एमडीबाट हटाइसकेपछि पीपीएदेखि कर्मचारी सरुवामा मोलतोल गरी ठूलो रकम असुली गरेका थिए । त्यसका लागि उनले अरुण केसीलाई नै परिचालन गरेका थिए ।

ठूलो आर्थिक लेनदेन गरी सिंचाई बिभागको महानिर्देशकमात्रै खड्काले एक बर्षमा ४ जनालाई बनाएर भ्रष्टाचारको चरम नमूना प्रदर्शन गरेका थिए ।

नेपाल स्काउटको जग्गा लिजमा लिएर ५ करोड भाडा नतिरेको खड्काल्याण्ड डेभलपमेन्ट प्रालि, संखुवासभा आधुनिक कृषि कम्पनी प्रालि, मकालु बरुण एग्रो कन्सर्न प्रालि, होटल फोरेष्ट इन प्रालि, लैनचोर बैंक्वेटलगायतका पनि उनी लगानीकर्ता र संचालक खड्काले मन्त्री भइसकेपछि यी कम्पनीहरुमा विभिन्न व्यक्ति र कम्पनीहरुमार्फत रकम जम्मा गराउन लगाएको समेत उजुरीमा दावी गरिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077