काठमाडौं । घुस लिँदालिँदै पक्राउ परेका इन्जिनियर सन्तोषकुमार यादवलाई विशेष अदालतले भ्रष्टाचारी ठहर गरेको छ ।
सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयमा कार्यरत रहँदा खोटाङमा निर्माणाधीन सडक आयोजनासम्बन्धी बिल पास गरिदिने प्रयोजनका लागि उनले घुस लिएको प्रमाणित भएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार यादवले सडक निर्माणको पाँचौँ र छैटौँ रनिङ बिल स्वीकृत गरी भुक्तानी प्रक्रिया अघि बढाइदिने सर्तमा ६ लाख ७० हजार रुपैयाँ घुस लिएका थिए । सोही क्रममा उनी रंगेहात पक्राउ परेका थिए।
विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र विदुर कोइरालाको इजलासले यादवसँग भेटिएको पाँच लाख ७० हजार रुपैयाँलाई बिगो कायम गर्दै सोही बराबरको जरिवाना तोक्ने आदेश दिएको छ ।
साथै, उनलाई दुई वर्ष कैद सजाय सुनाइएको छ । अदालतले यादवलाई अपराधपीडित संरक्षण कोषमा २२ हजार ८०० रुपैयाँ जम्मा गर्नसमेत आदेश दिएको छ ।