काठमाडौं । जेनजी अगुवा किशोरी कार्कीले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरेकी छन् ।
बिहीबार जेनजी आन्दोलनको एकसय दिनः उपलब्धी र भावी रणनीति’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो माग गरेकी हुन् ।
उनले जेनजी आन्दोलनकारीका माग सम्बोधन गर्दै शहीद परिवारलाई क्षतिपूर्ति दिन नसक्ने भए पद छोडेर तीर्थ यात्रामा निस्कन प्रधानमन्त्री कार्कीलाई आग्रह गरेकी छन् ।
उनले भनिन्- 'प्रधानमन्त्रीज्युलाई म के आग्रह गर्न चाहन्छु भने यो बुढेसकालमा काम गर्न सक्नुहुन्न भने तीर्थ यात्रा जानुहोस्। यसरी घाइते र शहीद परिवारको रगतमाथि खेलवाड नगर्नुहोस् । भोलिको दिनमा आरोप झेल्नुको सट्टा सक्षम युवाहरुलाई अगाडि बढाउनुस् ।'
उनले देशसँग जोस, जाँगर र नेतृत्व क्षमता भएका शिक्षित युवाहरू रहेको उल्लेख गर्दै परिवर्तित समयसापेक्ष चल्न नसक्ने जोसुकैले मार्ग प्रशस्त गर्नुपर्ने धारणा राखिन् ।
उनले थप भनिन्- ' शहीद परिवारलाई क्षतिपूर्ति दिनसक्ने क्षमता छैन भने पद छोडेर गइदिनुहोस् । युवाहरु छन् हामीसँग। जोस, जाँगर भएको र देशको लागि अगाडि बढ्छु भन्ने शिक्षित युवाहरु हुनुहुन्छ । काठमाडौंमा रहेका आन्दोलनकारीलाई मात्र जेनजी अगुवा भनेर गाउँमा रहेका जेनजीहरुलाई उपेक्षा गरिएको छ ।'
उनले सरकारले सम्झौताको नाममा काठमाडौं केन्द्रित आन्दोलनकारीलाई मात्रै हेरेर गाउँमा रहेका जेनजी युवाहरूलाई उपेक्षा गरेको आरोप समेत लगाइन् ।