नवलपरासी । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले नवलपरासी–१ बाट निवर्तमान सांसद विनोद चौधरीको नाम एकल रूपमा सिफारिस गरेको छ ।
कांग्रेस केन्द्रको परिपत्रअनुसार क्षेत्रीय कार्यसमिति, जिल्ला हुँदै लुम्बिनी प्रदेश कार्यसमितिले फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा चौधरीको नाम केन्द्रमा पठाउने निर्णय गरेको हो ।
लुम्बिनी प्रदेश कार्यसमितिको बैठकले जिल्लाहरूबाट आएका सिफारिसहरू आवश्यक सुझावसहित केन्द्रमा पठाउने निर्णय गरे पनि नवलपरासी–१ को हकमा भने चौधरीको एकल नाम मात्रै पठाइएको बताइएको छ ।
जिल्लाबाट चौधरीसँगै अर्का नेता विक्रम खनालको नाम पनि प्रत्यक्षतर्फ सिफारिस भएको थियो । तर नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिबाट साधारण सदस्य समेत नरहने गरी कारबाही भइसकेकाले खनालको नाम केन्द्रमा नपठाइएको हो।
खनाल कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिका महामन्त्रीसमेत थिए, जसबाट कारबाहीसँगै जिम्मेवारी खोसिएको थियो।नवलपरासी–१ बाट २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा चौधरी कांग्रेसबाट प्रत्यक्षतर्फ निर्वाचित भएका थिए ।