काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले ठूलै भूकम्प वा आँधी–तुफान आए मात्र चुनाव रोकिने बताएकी छन् । नागरिक बचाउ दल, नेपालको प्रतिनिधिमण्डलसँगको भेटमा शुक्रबार प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन् ।
उनले चुनाव सफल बनाउन सरकार आफ्नो तर्फबाट सम्पूर्ण रूपले तयारी गरिरहेको जानकारी दिँदै सुरक्षाका सवालमा पनि शंका नगर्न आग्रह गरिन् ।
प्रधानमन्त्री कार्कीले भनिन्, ‘तपाईँ–हामी सबै एक ठाउँमा हुने हो भने कसैले केही गर्न सक्दैन। हतियार, कैदी धेरै फिर्ता भइसकेका छन्। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका लागि स्रोतसाधन उपलब्ध गराइसकिएको छ। निर्वाचनका लागि छुट्टै प्रहरी भर्तीको प्रक्रिया अघि बढेको छ। ठूलै भूकम्प वा आँधी–तुफान आए मात्र चुनाव रोकिएला। नत्र फागुन २१ गतेको चुनाव कुनै हालतमा सर्दैन। तपाईँहरू पनि तयारी गर्नुहोस्।’
उनले विचारमा फरक भए पनि राष्ट्रिय हितका विषयमा देशभित्रका सबै शक्ति एक ठाउँमा उभिनुपर्ने बताइन् ।
प्रतिनिधि सभाको निर्वाचनमा जान ११४ दल दर्ता भएको सन्दर्भ उल्लेख गर्दै राष्ट्रिय हितका सवालमा सबै एकताबद्ध हुनुपर्ने उनको भनाइ छ ।