काठमाडौं । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको बलमा बनेको सुशीला कार्की नेतृत्वको सरकार विवादित बन्दै जान थालेको छ । पछिल्ला दिनमा कार्कीलाई प्रधानमन्त्री बन्न सहयोग पुर्याउने ‘जेनजी विद्रोह’का सदस्यसमेत उनको गतिविधि, व्यवहार र अभिव्यक्तिविरुद्ध खनिन थालेका छन् ।
पछिल्लो समय प्रधानमन्त्री कार्कीकै सहयोगीहरू एकपछि अर्को विवादमा परिरहेका छन् । जसका कारण जेनजीहरू चिढिन थालेका हुन् । २२ वटा जेनजी समूहले त राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निवेदन दिएरै सरकारको विकल्प खोज्न आग्रह गरेको महिना वितिसकेको छ ।
प्रधानमन्त्री कार्कीले होप फर्टिलिटी डिम्ब प्रकरणमा देखाएको मौनता, श्रीमान–श्रीमतीलाई नै सचिवालयमा राखेर गरेको पदिय दुरुपयोग, नेपाल विद्युत प्राधिकरणबाट हितेन्द्रदेव शाक्यको सरुवामा देखाएको मौनता, मोरिससको ट्याक्स हेभनमार्फत् नेपाल भित्र्याइएको शंकास्पद विदेशी लगानी ‘डोल्मा इम्प्याक्ट फन्ड’लाई नियमविपरीत अर्बौं रुपैयाँ कर छुट दिलाएको लगायतका विषयले अन्तरिम सरकार विवादको घेरामा परेको छ।
त्यतिमात्रै होइन अहिले फेरि गैरराजनीतिक सरकारमा दलका प्रतिनिधि मन्त्री भएको विषयमा पनि चर्को विरोध शुरु भएको छ । हाल कार्की नेतृत्व सरकारमा ऊर्जामन्त्री रहेका कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति बनिसकेका छन् भने खेलकुदमन्त्री बब्लु गुप्ता सोही पार्टीको केन्द्रीय सदस्य भइसकेका छन् ।
प्राधिकरणबाट हटाइएपछि मन्त्री भएका कुलमानले उज्यालो नेपाल नामक पार्टी गठन गरेका थिए । अहिले उनले आफ्नो पार्टीलाई रास्वपामा विलय गराएका छन् । जेनजी उमेर समूहबाट गैरदलीय सरकारमा मन्त्री बनेका गुप्ता पनि रास्वपाको केन्द्रीय सदस्य बनेपछि प्रधानमन्त्री कार्की नेतृत्वको सरकारको विरोध हुन थालेको हो ।
यद्यपी यो विषयमा भने प्रधानमन्त्री कार्की घुमाउरो भाषामा उनीहरुलाई राजीनामा दिन सुझाव दिएकी छन् । प्रधानमन्त्री कार्कीले राजनीतिक दलसँग आवद्ध मन्त्रीहरूलाई राजीनामा दिन सुझाव दिएको स्रोतको दावी छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री कार्कीले दलसँग आबद्ध भइसकेका मन्त्रीहरूले परिस्थितिको मूल्याङ्कन गरी आफैं निर्णय गर्नुपर्ने बताएकी हुन् ।
प्रधानमन्त्रीले कुनै मन्त्रीको व्यक्तिगत रूपमा नाम नलिए पनि दलसँग आवद्ध भएकाहरूले बुझेर कदम चाल्नुपर्ने बताएको स्रोतले जानकारी दियो ।
यसैबीच, सञ्चारमन्त्री जगदिश खरेल पनि ललितपुर क्षेत्र नम्बर–२ बाट रास्वपाको तर्फबाट उम्मेदवार बन्ने चर्चा चलिरहेको छ । यद्यपि उनी हालसम्म कुनै दलसँग औपचारिक रूपमा आवद्ध भइसकेका छैनन् ।