कालीकोट । कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।
सेरी पान्तडी सडकको सल्लेरीमा उकालो चढ्ने क्रममा भे१ज २८९८ नम्बरको जीप शुक्रबार बेलुकी ६ बजे ब्याक भएर दुर्घटना हुँदा तीनजनाको घटनास्थलमा मृत्यु भएको हो ।
मृत्यु हुनेमा दुईजना स्काभेटरका अपरेटर र एकजना सहचालक रहेको कालीकोटका प्रहरी प्रमुख हिमबहादुर खत्रीले बताए । उनका अनुसार मृत्यु हुनेमा दैलेख आठबिस नगरपालिका घर भएका २८ वर्षीय शंकर कठायत, अछामका टेकेन्द्र शाही र सहचालक कालीकोटको शुभकालिका–२ का नवराज शाही रहेका छन् ।
मृतक तीनैजना सेरी पान्तडी सडक खन्ने काममा संलग्न थिए । भीरबाट तीनवटै शव निकालेर सडकका ल्याएको र परीक्षणका लागि आफन्त बोलाएर सदरमुकाम लैजाने तयारी भएको प्रहरी प्रमुख खत्रीले बताए ।
उनका अनुसार गाडी सडकबाट ५०० मिटर तल तिला नदीको किनारामा टुक्राटुक्रा भएको अवस्थामा छ ।