काठमाडौं । नेपाली काँग्रेसले केन्द्रीय कार्यालयको कार्यवाहक मुख्यसचिवको जिम्मेवारी सचिव कृष्णप्रसाद दुलाललाई दिएको छ।
२०७३ वैशाख २७ गतेदेखि मुख्यसचिव पदमा रहेका कृष्णप्रसाद पौडेलले विशेष महाधिवेशनबाट नयाँ नेतृत्व आएपछि माघ ८ गते राजीनामा दिएका थिए।
त्यसपछि आज सभापति गगनकुमार थापाले पौडेलको राजीनामा स्वीकृत गरी दुलाललाई कार्यवाहक मुख्यसचिवको जिम्मेवारी तोकेका हुन्।
‘नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २५(१०), नेपाली कांग्रेसको नियमावली, २०७६ को नियम ४६ (ग) तथा नेपाली कांग्रेस कर्मचारी विनियमावली, २०७९ को नियम १४ (क) बमोजिम अर्को व्यवस्था नहुन्जेलसम्मका लागि केन्द्रीय कार्यालयका सचिव श्री कृष्णप्रसाद दुलाललाई नेपाली कांग्रेस केन्द्रीय कार्यालयको कावा मुख्यसचिवको जिम्मेवारी तोक्नुभएको छ,’ कार्यालय सचिव प्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।