अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभा उम्मेदवार ओमप्रकाश रावलले मतदातासँग आफूलाई मतदान गर्न अपिल गरेका छन् ।
सामाजिक सञ्जालमार्फत स्टाटस सार्वजनिक गर्दै उनले आफूलाई जिताए अछामले नयाँ इतिहास रच्ने दाबी गरेका हुन् ।
रावलले मतदातालाई सम्बोधन गर्दै भनेका छन्, 'मेरा प्यारा अछामी आमा-बुवा, दाजुभाइ, दिदीबहिनी, बाज्या-बज्यै तथा प्रिय युवा साथीहरू, यो हार-जितको खेल मात्र खेल्ने कि इतिहास रच्ने भन्ने निर्णय तपाईंहरूको हातमा छ।'
उनले आफूलाई मत दिएर विजयी गराए अछामबाट देशकै सबैभन्दा कान्छो सांसद निर्वाचित हुने दाबी गरे। उनका अनुसार उनी निर्वाचित भए २७ वर्षको उमेरमा संसद् प्रवेश गर्ने छन्।
रावलले आफू जेनजी तथा समग्र युवाहरूको प्रतिनिधि हुने र विशेषगरी भुइँमान्छे, अपाङ्ग, असहाय, विपन्न तथा गरिब वर्गको आवाज संसदमा उठाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले अन्त्यमा मतदातासँग आग्रह गर्दै भने, 'त्यसैले भोट फर घण्टी । जय देश जय घण्टी ।'