Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

पूर्वराजाको स्वागतमा प्रतिबन्ध उपयुक्त होइन : रवीन्द्र मिश्र

पूर्वराजाको स्वागतमा प्रतिबन्ध उपयुक्त होइन : रवीन्द्र मिश्र

शुक्रवार , फाल्गुण १, २०८२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्रले पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका क्रममा शान्ति र संयमता अपनाउन आग्रह गरेका छन् ।

शुक्रबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै मिश्रले राजसंस्थाले सधैँ शान्ति, स्थिरता र राष्ट्रिय एकताको पक्षमा भूमिका निर्वाह गर्दै आएको दाबी गरेका छन् ।

उनले राजा वीरेन्द्र शाहले 'थोरै क्षति हुनेबित्तिकै' ३० वर्षे पञ्चायती व्यवस्था त्यागेको उल्लेख गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहले पनि “थोरै क्षति हुनेबित्तिकै” हजारौँ वर्षदेखिको राजसंस्थाको परम्परा त्यागेको दाबी गरे।

उनले राजाले कहिल्यै हिंसा, अशान्ति र द्वन्द्व नचाहेको उल्लेख गर्दै पूर्वराजाको स्वागत पनि शान्तिपूर्ण ढंगले हुनुपर्नेमा जोड दिएका छन्।

'राजालाई स्वागत गर्न जाँदा शान्ति अवलम्बन गर्नु हामी सबैको दायित्व हो,' मिश्रले भनेका छन्।

विमानस्थलजस्तो संवेदनशील क्षेत्रको सुरक्षा सुनिश्चित गर्नुपर्नेमा सहमति जनाउँदै उनले विमानस्थल बाहिर शान्तिपूर्ण रूपमा स्वागत गर्नु नागरिकको नैसर्गिक अधिकार भएको बताए।

उनले अन्य व्यक्तिहरूको स्वागतमा कुनै समस्या नआउने तर पूर्वराजाको स्वागतका लागि निषेधाज्ञा जारी गर्नु उपयुक्त नभएको टिप्पणी गरेका छन्।

पूर्वराजा ज्ञानेन्द्र शाह आज झापाबाट काठमाडौं फर्किने क्रममा राजावादी समूहले विमानस्थल क्षेत्रमा स्वागतको तयारी गरेका छन्। तर जिल्ला प्रशासन कार्यालय काठमाडौंले विमानस्थल क्षेत्र आसपास निषेधाज्ञा लागू गरेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077