काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपालको सडक सुरक्षा र सार्वजनिक यातायात प्रणालीमा आमूल परिवर्तनको आवश्यकता औंल्याएका छन् ।
उनले सडक दुर्घटनालाई सामान्य घटनाका रूपमा होइन, देशकै विकास र नागरिक सुरक्षासँग जोडिएको गम्भीर संरचनागत समस्या भएको बताएका छन्।
शुक्रबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै थापाले नेपालमा सडक दुर्घटनाबाट दैनिक औसत सात जनाले ज्यान गुमाइरहेको उल्लेख गरेका छन्।
उनले दुर्घटनाका कारण देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा करिब ३ प्रतिशतसम्म क्षति भइरहेको तथ्य प्रस्तुत गर्दै चिन्ता व्यक्त गरेका छन्।
थापाले सडक दुर्घटनालाई केवल “समाचार” को रूपमा सीमित गरेर नहेर्न आग्रह गर्दै यसको समाधानका लागि दीर्घकालीन र संरचनागत सुधार अपरिहार्य भएको बताएका छन्।
थापाले नेपालका यातायात सम्बन्धी ऐन र नियमहरू ३२ वर्ष पुराना भइसकेकाले समयसापेक्ष छैनन् भन्दै नयाँ “मोडल यातायात ऐन” निर्माण गर्नुपर्ने धारणा अघि सारेका छन्।
उनका अनुसार नयाँ ऐनले सडक सुरक्षा, सार्वजनिक यातायातको गुणस्तर, प्रविधिको प्रयोग, नियमन तथा सेवा व्यवस्थापनलाई आधुनिक ढंगले सञ्चालन गर्न मार्ग प्रशस्त गर्नेछ।
गगन थापाले सार्वजनिक यातायात प्रणाली सुधारका लागि एक शक्तिशाली ‘यातायात प्राधिकरण’ स्थापना गर्नुपर्ने प्रस्ताव गरेका छन्।
उनले यो प्राधिकरणले वैज्ञानिक ढंगले रुट निर्धारण गर्ने, सार्वजनिक–निजी साझेदारीमार्फत लगानी जुटाउने, र प्रविधिको प्रयोग गरेर यातायात क्षेत्रलाई व्यवस्थित बनाउने योजना रहेको बताएका छन्।
उनका अनुसार यातायात प्राधिकरण बनेपछि अहिलेको अव्यवस्थित, असुरक्षित र मनपरी प्रणालीलाई सुधार गर्दै नागरिकमैत्री र विश्वसनीय सेवा सञ्चालन सम्भव हुनेछ।