हङकङ। चिनियाँ नयाँ वर्ष (लुनार न्यु इयर)को अवसरमा हङकङमा एलजी फेस्ट २०२६ आयोजना हुने भएको छ ।
हउक्त कार्यक्रम ङकङमा क्रियाशील नेपालीको संस्था लालीगुराँस एसोसिएसन (एलजी)ले आयोजना गर्न लागेको हो ।
लालीगुराँस एसोसिएसनले हरेक वर्ष हजारौं दर्शकमाझ एलजी फेस्टको आयोजना गर्दै आएको छ । १८औं ‘एलजी फेस्ट’ फेब्रुअरी १८ मा हुने आयोजक लालीगुराँस एसोसिएसनले जनाएको छ ।
एलजी नाईटको रुपमा हरेक बर्ष कार्यक्रम हुँदै आएकोमा १७औं वसन्त पार गरेको अवसरमा ‘गत वर्षबाट एलजी फेस्ट’ आयोजना गरिएको थियो ।
एलजी फेस्टका संचालक चेतन गुरुङका अनुसार यो वर्षको ओपन कन्सर्टमा बलिउडका स्टारहरूका साथै नेपाली कलाकारहरूले आफ्नो प्रस्तुति दिनेछन्।
कार्यक्रममा म्युजिक आर्टिस्ट समेत रहेका चर्चित गायक सज्जन राज वैद्यले पनि समूहमा प्रस्तुति दिने भएका छन् । एकल प्रस्तुति मात्रै पस्किदै आएका बैद्यले एलजी एशोसियनसको आग्रहरुलाई स्वीकार गर्दै समूहमा प्रस्तुति दिन लागेको गुरुङले अनलाइन नेपालसँग बताए ।
युनलङस्थित ताई तोङ अर्गानिक इको पार्कमा आयोजना हुने यस वर्षको कार्यक्रममा मंगोलियन हर्ट, कुमः सागर एण्ड द ख्वप, पूर्ण राई एन्ड दाजुभाइ, दुर्गेस थापा, शान्ता रानी परियार, आश्मा विश्वकर्मा तथा सज्जन राज वैद्यलगायत ५८ जना कलाकारहरूले प्रस्तुति दिनेछन्।
हङकङबासी नेपालीहरूले पनि एलजी फेस्टको मनोरञ्जन लिन आफूहरु प्रतिक्षामा रहेको बताएका छन् ।

चेतन गुरुङ, विशाल गुरुङ, हिमाल राना लगायतका हङकङेली युवाहरूले सन् २००४ मा स्थापना गरेको लालीगुराँस एसोसियसन (एलजीं)ले युके, अस्ट्रेलिया, अमेरिका, मकाउ, जापान लगायतका देशहरूमा समेत सांगितिक कार्यक्रमहरूको आयोजना गरिरहेको छ।
आयोजकमध्येका चेतन गुरुङका अनुसार जुन २०२६ मा युकेमा एलजी फेस्टको आयोजना हुँदैछ भने नोभेम्भरमा अष्ट्रेलिया र अमेरिकामा एलजे फेस्ट आयोजना हुनेछ ।
विदेशी भूमिमा आफ्नो कला–संस्कृतिलाई जोगाइ राख्न र नेपाल–हङकङबीचको मैत्री सम्बन्धलाई अझै प्रघाढ बनाउने उद्देश्यका साथ प्रत्येक वर्ष कार्यक्रम आयोजना गरिएको आयोजक चेतन गुरुङले बताए ।