एजेन्सी । बंगलादेशको प्रधानमन्त्री बनेपछि तारिक रहमानले बुधबार बेलुका पहिलोपटक राष्ट्रका नाममा सम्बोधन गरेका छन् ।
उनको सम्बोधन सरकारी टेलिभिजन च्यानल बीटीभी र बंगलादेश बेतारमार्फत स्थानीय समयअनुसार राति ९स्४५ बजे प्रत्यक्ष प्रसारण गरिएको थियो ।
बीबीसी बंगला सेवाका अनुसार प्रधानमन्त्री रहमानले रमजान महिनामा जनताका लागि दैनिक उपभोग्य वस्तुको मूल्य उचित राख्न व्यापारीहरूलाई निर्देशन दिएका छन् ।
साथै उनले देशमा कानुनी व्यवस्था सुधार र भ्रष्टाचार नियन्त्रणलाई सरकारको प्रमुख प्राथमिकता हुने बताएका छन्।
प्रधानमन्त्री रहमानले फासीवादी शासनकालको भ्रष्टाचार र कुशासनका कारण बंगलादेश अस्थिर अर्थतन्त्र, कमजोर शासन प्रणाली तथा बिग्रँदै गएको कानुन व्यवस्थाको अवस्थामा पुगेको दाबी गर्दै नयाँ सरकारले त्यही अवस्थाबाट यात्रा सुरु गरेको उल्लेख गरे।
‘फासीवादी युगबाट भ्रष्टाचार र कुशासनका कारण अस्थिर अर्थतन्त्र, कमजोर शासन र बिग्रँदै गएको कानुन व्यवस्थाको बीचमा नयाँ सरकारले आफ्नो यात्रा सुरु गरेको छ,’ उनले भने, ‘हाम्रो सरकारको मुख्य प्राथमिकता कानुनी व्यवस्था सुधार गरेर र भ्रष्टाचारलाई कडाइका साथ नियन्त्रण गरेर जनतामा शान्ति र सुरक्षा पुनर्स्थापित गर्नु हो।’
उनले देशमा माफिया र अराजकता फैलाउने गिरोहहरू हटाउनुपर्नेमा जोड दिँदै सरकारले यस विषयमा कडा कदम चाल्ने प्रतिबद्धता व्यक्त गरे।