काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले हेटौंडास्थित यातायात व्यवस्था कार्यालयमा कार्यरत अधिकृत अमृत भेटवाल र एक बिचौलियालाई घुस रकमसहित रङ्गेहात पक्राउ गरेको छ ।
सवारी सरुवा सहमति गरिदिने नाममा सेवाग्राहीसँग घुस माग गरिएको भन्ने सूचना तथा उजुरीका आधारमा आयोगको हेटौंडा कार्यालयबाट खटिएको टोलीले मंगलबार अपरेसन चलाएको हो ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार लेखापढी व्यवसायी खगेन्द्र पौडेलले सेवाग्राहीबाट ११ हजार ५ सय रुपैयाँ घुस लिइसकेको अवस्थामा हेटौंडा उपमहानगरपालिका–११ स्थित यातायात व्यवस्था कार्यालय परिसरबाट अधिकृत अमृत भेटवाल र पौडेललाई नियन्त्रणमा लिइएको हो ।
पक्राउ परेका दुवै जनाबाट तीन थान मोबाइल सेटसमेत बरामद गरिएको आयोगले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रवक्ता न्यौपानेले जानकारी दिए ।