'प्रसाईंलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन पनि आदेश'
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँको बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले तत्काल रिहा गर्न अस्वीकार गरेको छ ।
मंगलबार सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको एकल इजलासले कारण देखाऊ आदेश जारी गरेको हो ।
सर्वोच्चले प्रहरी हिरासतमा रहेका अभियन्ता दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन पनि आदेश दिएको छ।
राजसंस्था पुनर्स्थापनाको माग गर्दै विभिन्न किसिमका आन्दोलन गर्दै आएका प्रसाईँलाई केही दिनअघि मात्रै प्रहरीले पक्राउ गरेको थियो । भक्तपुरस्थित निवासबाटै प्रहरीले प्रसाईँलाई पक्राउ गरी सार्वजनिक शान्ति विरुद्धको कसुरमा अनुसन्धान गरिरहेको छ । सार्वजनिक शान्ति विरुद्ध विभिन्न किसिमका आन्दोलन गर्दै आएका प्रसाईँलाई फागुन १७ गते प्रहरीले भक्तपुरस्थित निवासबाटै पक्राउ गरेको थियो।
गत आइतबार मात्रै व्यवसायी प्रसाईँलाई जिल्ला प्रशासन कार्यालय भक्तपुरले ५ दिन हिरासतमा राखी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो । त्यसको विरुद्ध प्रसाईँ बन्दी प्रत्यक्षीकरणको रिट लिएर सर्वोच्च अदालत पुगेका हुन् । ।
यसअघि प्रहरीले प्रसाईँमाथि निर्वाचन बिथोल्ने गतिविधिमा संलग्न भएको भन्दै ४ फागुनमा पनि पक्राउ गरेको थियो ।
तर उनलाई गैरकानुनी रुपमा हिरासतमा राखिएको दाबीसहित श्रीमती उमा प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको इजलासले थुनामुक्त गर्न आदेश दिएको थियो । प्रसाईं आदेश १३ फागुनमा रिहा भएका थिए ।
त्यसको ३ दिनपछि सार्वजनिक शान्तिमा खलल पुराएको आरोपमा पुनः पक्राउ परेका हुन् ।