काठमाडौं । एयर डायनिष्टी हेलि सर्भिसका मालिक श्यामसुन्दर कँडेल पनि फेक रेस्क्युमा संलग्न रहेको भेटिएको छ। प्रहरीले गरेको अनुसन्धानमा उनीसमेत सो गिरोहका मुख्य सदस्य भएको खुलेको छ।
तर, कँडेल अहिलेसम्म पक्राउ परेका छैनन् । केही उच्च प्रहरी अधिकारीले नै उनलाई भगाएको आशंका गरिएको छ।
कँडेलका पाटर्नर रहेका जयराम रिमाल एक महिनादेखि प्रहरी हिरासतमा छन्। कँडेल भने पक्राउ गर्न लागिएको सूचना लिक भएपछि भागेका हुन्।
फेक रेस्क्युका नाममा भएको ठगीमा मुख्य आरोपीमध्ये एक कँडेल हुन्। उनले यही धन्दाबाट अर्बको सम्पत्ति जोडिसकेका छन्।
उनको एयर डायनेष्टिसहित फ्लाइट कनेक्सन इन्टरनेशनल, होटल ग्रिन पार्क चितवन, श्वाकन इन्टरनेशनल हस्पिटल, बागमती फाइबर एण्ड मेटल, ज्वाइन्ट भेन्चर इन्भेष्टमेन्ट कम्पनी, ट्रष्ट नेष्ट रियल स्टेट, गोल्डेन फाम्र्स लगायत कम्पनीमा लगानी छ। फरार रहेका कँडेलले सिआइबीको अनुसन्धानलाई प्रभावित पार्ने प्रयास गरिरहेको स्रोत बताउँछ ।
हालसम्म सिआइबीले सो प्रकरणमा नौ जनालाई पक्राउ गरिसकेको छ। सिआइबीले यस प्रकरणमा माउन्टेन रेस्क्यु सर्भिसका सञ्चालक जयराम रिमाल, एभरेस्ट एक्सपिरियन्स एन्ड असिसटेन्स प्रालिका सुवास केसी र मुक्ति पाण्डे, नेपाल चार्टर सर्भिस प्रालिका रवीन्द्र अधिकारी, मास्टर हिमालय ट्रेक्सका विवेक पाण्डे, नेपाल चार्टर सर्भिसका अपरेसन म्यानेजर विवेक थपलिया र श्रीद्धि इन्टरनेसनल अस्पतालका सञ्चालक डा. गीर्वाणराज तिमिल्सिनालाई पक्राउ गरिसकेको छ।
विमान सेवा सञ्चालक संघका पूर्वउपाध्यक्ष राजेन्द्रबहादुर सिंह र रोयल होलिडे एडभेन्चरका सञ्चालक सन्दीप तिवारी गत साता मात्र पक्राउ परेका थिए।
काठमाडौंका नर्भिकलगायत केही ठूला अस्पताल र हेलि कम्पनी यसमा तानिने भएपछि अनुसन्धान प्रभावित पार्न तिनका सञ्चालकको सक्रियता बढेको छ। तर, सिआइबीले यस्तो धन्दामा संलग्नहरुको सम्पत्ति समेत रोक्का गरेर छानबिन अघि बढाएको छ।