Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

फेक रेस्क्युमा मिङमा शेर्पासँग किन सोधपुछ गरेन सीआइबीले ?

फेक रेस्क्युमा मिङमा शेर्पासँग किन सोधपुछ गरेन सीआइबीले ?

शुक्रवार , चैत्र २७, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सांसदको उम्मेदवार रहेका मिङमा शेर्पाको फेक रेस्क्यु धन्दामा शंकास्पद सम्बन्ध देखिएपनि उनलाई सोधपुछ समेत नगरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले उन्मुक्ति दिएको छ । 

सीआइबीले उनकी श्रीमती चुङला शेर्पालाई मुद्दा चलाएको छ । तर, मिङमामाथि सोधपुछ समेत नहुनले सिआइबीको अनुसन्धानमाथि प्रश्न उठेको छ ।  

सीआइबीले तीन साताअघि ३२ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । जसमा १० जना पक्राउ परेका थिए । उनीहरु सबैजना सामान्य धरौटीमा छुटिसकेका छन् । 

यति गम्भीर मुद्दाका आरोपीहरू यसरी सहजै छुट्नुका पछाडि अनुसन्धानमा प्रमाण कमजोर भएर त होइन ? भन्ने प्रश्न समेत उठेको छ । जबकी बयानकै क्रममा डा.गिवार्णराज तिमल्सिनाले एरा अस्पतालको मुख्य सञ्चालक मिङमा भएको बताएका छन् । 

फेक रेस्क्युको धन्दाबाट सोह्रखुट्टेस्थित एरा अस्पतालले फर्जी बिल बनाएर करोडौं असुली गरेको थियो । सोही अस्पतालका मुख्य लगानीकर्तामध्ये एक मिङमा हुन् । 

उनले शेयर श्रीमतीको नाममा राखेका थिए । सोही कारण श्रीमतीलाई मुद्दा दायर गरिएको हो । गत साता सिआइबीले ३२ जनाविरुद्ध मुद्दा दायर गरेकोमा २० औं नम्बरमा चुङलाको नाम छ । उनलाई फरार प्रतिवादी बनाइएको छ । 

शेर्पा हालै सम्पन्न निर्वाचनमा संखुवासभाबाट रास्वपाका उम्मेदवार थिए । जो ६३६ मतान्तरले एमालेका अर्जुन कार्कीसँग पराजित भए । विगतमा कांग्रेसमा आबद्ध भएका उनी बालेनसँग नजिक भएर रास्वपामा लागेका हुन् । हाल रास्वपाकै सरकार भएकाले कतै सीआइबीले उनीमाथि सोधपुछ नगरेको त होइन भन्ने शंका समेत उत्पन्न भएको छ । 

मिङमा सगरमाथा आरोहण गराउने प्रमुख कम्पनीमध्ये एक सेभेन समिट ट्रेकका अध्यक्ष हुन् । उनको हेलि एभरेष्ट हेलिकोप्टर कम्पनी पनि छ । सो हेलिकोप्टर कम्पनीले पनि शंकास्पद उडानहरू गरेका संकेत देखिएका थिए । तर, केही प्रहरी अधिकारीहरुसँगको निकटताका आधारमा पनि मिङमालाई भने उन्मुक्ति दिएको चर्चा पर्यटन क्षेत्रमा छ । 

त्यसो त सीआइबीले यसमा मुछिएकाहरुको सम्पत्ति शुद्धीकरणको कसुरमा पनि अनुसन्धान गर्ने जनाएको थियो । त्यो अनुसन्धान पनि सुस्त देखिएको छ  । 

यसरी छानबिन गर्दा एरा अस्पतालका सञ्चालकहरुको गर्नैपर्ने हुन्छ । अनुसन्धान गर्दा मिङमाको सबै सम्पत्ति रोक्का गर्नुपर्ने हुन्छ । रास्वपा सरकारको असर सीआइबीको अनुसन्धानमा परेको आशंका गर्न थालिएको छ । सो मुद्दामा पक्राउ परेका मुक्ति पाण्डे पनि गृहमन्त्री सुधन गुरुङका निकटस्थ व्यक्ति हुन् ।

यही प्रकरणमा माउन्टेन हेलिकप्टर प्रालिका म्यानेजिङ डाइरेक्टर राजेन्द्र बहादुर सिंह पनि पक्राउ परेका थिए । उनी विमान सेवा सञ्चालक संघका पूर्व उपाध्यक्षसमेत हुन्। सोही दिन रोयल होलिडेज एडभेन्चर एण्ड ट्राभल कम्पनीका सञ्चालक सन्दीप तिवारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो।

तर, सोही कम्पनीका अध्यक्ष तथा पूर्वएआईजी विज्ञानराज शर्मालाई भने सीआईबीले सामान्य सोधपुछ समेत गरेको छैन ।  

कम्पनीका व्यवस्थापकीय प्रमुख अर्थात् एमडी नै नक्कली रेस्क्यु प्रकरणमा पक्राउ पर्दा स्वाभाविक रूपमा कम्पनी नेतृत्व पनि अनुसन्धानमा तानिनुपर्ने हा । तर अध्यक्षमाथि भने सामान्य सोधपुछ पनि नहुनु आफैमा शंकास्पद छ । 

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलन घटनाको छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको आयोगका सदस्यमध्ये एक शर्मा पनि हुन्।

शर्माकै जोडबलमा उक्त आयोगले प्रहरी अधिकृतमाथि नै कारबाही सिफारिस गरेको छ । जसलाई शर्माको व्यक्तिगत पूर्वाग्रहका रुपमा लिइएको छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077