काठमाडौं । पदयात्रामा जाने पर्यटकको उद्धारका नाममा गरिएको बीमा ठगी (फेक रेस्क्यु) का मुख्य अभियुक्त नै जोगिएपछि प्रहरी प्रधान कार्यालय र महान्यायाधिवक्ताको पहलमा पुनः छानविन प्रक्रिया अगाडि बढेको छ ।
आईजीपी दानबहादुर कार्की र महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलबीच केही दिन अघि भएको छलफलपछि फेक रेस्क्युको अनुसन्धान पुनः कडाइका साथ अगाडि बढेको एक उच्च प्रहरी अधिकारीले बताए ।
यस प्रकरणका ‘मास्टरमाइन्ड’ मानिएका राजेन्द्रबहादुर सिंहलाई नै सरकारी वकिल कार्यालयले उन्मुक्ति दिएको थियो । दोष सरकारी वकिललाई दिइएपनि यसमा सआइबीको पनि कमजोरी रहेको बताइएको छ ।
आईजीपी र महान्यायधिवक्ताबीचको छलफलपछि फेक रेस्क्युका मास्टरमाइन्ड सिंहविरुद्ध मुद्दा भएको छ । सिंहसहित अभियुक्तहरुविरुद्ध झण्डै डेढ अर्ब विगोसहित सम्पत्ति शुद्धीकरणमा पुनः मुद्दा चलाउन प्रहरीलाई सहज भएको छ ।
यस्तो गम्भीर किसिमको अपराधमा पक्राउ परेकाहरु सबै धरौटीमा छुटिसक्दा समेत कोहीमाथि पनि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान नहुनुलाई सीआईबीको समेत लापरबाहीको रुपमा हेरिएको छ ।
अनुसन्धानका क्रममा प्रहरीदेखि थुनछेकका क्रममा अदालतमा समेत चलखेल भएको खुलेपछि प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’सम्म यो कुरा पुगेको थियो ।
पक्राउ परेकाहरु सबै जना धरौटीमा छुटे पनि फरार २२ जना अझै पक्राउ परेका छैनन् ।
जिल्ला सरकारी वकिल कार्यालयले प्रहरीसँग समन्वय गरेर नयाँ प्रमाण जुटाउने काम गरिरहेको छ । जसले अघिल्लो अनुसन्धान निष्पक्ष थियो कि थिएन ? भन्ने गम्भीर प्रश्न उठाएको छ ।
फेक रेस्क्युका मास्टरमाइन्ड सिंहलाई पक्राउ गरे पनि कमजोर अनुसन्धान प्रतिवेदन तयार गरी सरकारी वकिल कार्यालयमा बुझाइएका कारण उनी छुटेका थिए ।
यसमा पूर्व एआइजी विज्ञानराज शर्मालगायतले सेटिङ गरेको स्रोत बताउँछ ।
पूर्वएआइजी शर्मा अध्यक्ष रहेको माउन्टेन हेलिकप्टर प्रालिका प्रबन्ध निर्देशक (एमडी) हुन्, राजेन्द्रबहादुर सिंह । तर, सीआईबीले शर्मामाथि सोधपुछसमेत गरेन ।
सिंहको अनुसन्धान अगाडि बढ्दै जाँदा शर्माहरुको चलखेलका कारण फेक रेस्क्युको मुद्दा नै कमजोर बनेको थियो । सुरुमा फेक रेस्क्यु मुद्दाका रूपमा अघि बढाइएको घटनालाई पछि फरक प्रकृतिको मुद्दामा रूपान्तरण गरि वास्तविक दोषीलाई जोगाउने प्रयास भएको थियो ।
त्यतिबेला जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख रामहरि शर्मा काफ्लेको कार्यकालमा सिंहलाई मुद्दाबाट अलग राख्ने निर्णय भएको थियो । अहिले भने काफ्ले उक्त जिम्मेवारीबाट हटाइसकिएका छन् । सिंह छुट्नुमा काफ्ले, केसी र शर्माबीचको सम्बन्धले काम गरेको त होइन भन्ने गम्भिर आशंका उब्जिएको छ ।
फेक रेस्क्युका अर्का नाइके एयर डाइनेस्टीका मालिक श्यामसुन्दर कँडेलसँगको अडियो संवादमा ‘रेस्क्यु’ शब्द प्रयोग नगरी ‘चार्टर्ड फ्लाइट’ भनेर उल्लेख गर्ने र रेस्क्यु विवरण नै हटाउने लबिङबारे कुरा भएको थियो ।
त्यस्तै, लुक्लामा सामान्य बिरामीलाई समेत काठमाडौंका अस्पतालमा रिफर गराउन स्वास्थ्यकर्मीमार्फत घुस दिने योजनाबारे पनि अडियोमा उल्लेख छ । एक संवादमा त सिंहले आफूलाई ‘फेक रेस्क्युको डन’ भन्दै बोलेको अंशसमेत भेटिएको छ ।
अहिले सिंह लगायतको मुद्दा जानाजान कमजोर बनाएर सरकारी वकिल कार्यालयमा बुझाइएको त होइन भन्ने प्रश्न पनि उठेको छ ।
मुद्दा चलाइएका ३२ प्रतिवादीमध्ये ११ पक्राउ परेकामा सिंह त्यतिबेला मुद्दा नचल्ने निर्णयसँगै छुटेपछि चलखेल बाहिर आएको थियो । अन्य १० जना प्रतिवादी पनि एक लाखदेखि ३० लाख रूपैयाँ धरौटी रकम बुझाएर छुटेका थिए ।
यसरी छुट्नेहरुमा माउन्टेन रेस्क्यु सर्भिस प्रालिका सञ्चालक जयराम रिमाल र म्यानेजर विवेक पाण्डे, नेपाल चार्टर सर्भिस प्रालिका सञ्चालक रवीन्द्र अधिकारी र म्यानेजर विवेकराज थपलिया, एभरेस्ट इक्सपेरियन्स एन्ड असिस्टेन्स प्रालिका सञ्चालकद्वय मुक्ति पाण्डे र सुभाष केसी हुन् ।
त्यसैगरी श्रीद्धि इन्टरनेसनल अस्पतालका सञ्चालक डा. गिर्वाणराज तिमिल्सिना र प्यानरोमा हिमालय ट्रेकिङ एन्ड एक्पेडिसनका सञ्चालक पासाङ शेर्पा, रोयल होलिडेज एड्भेन्चर्सका सन्दीप तिवारी र नेपाल चार्टर सर्भिसका पूर्वसञ्चालक खोमराज अधिकारी पनि धरौटीमा छुटेका थिए ।

उनीहरूविरुद्ध संगठित अपराध निवारण ऐन, ०७० को दफा ३ अन्तर्गत संगठित अपराध गर्न नहुने कसुर पनि मुद्दा चलाएको थियो ।
कतिपयलाई योजनाबद्ध रुपमा नै पक्राउ नगरिएको समेत सीआइबी स्रोत बताउँछ । साथै आरोपीहरुको सम्पत्ति छानबिनमा पनि सीआईबी प्रमुख एआईजी मनोज केसीले चासो नदेखाउनुलाई पनि कमजोरीको रुपमा लिइएको छ ।
समग्रमा, यो प्रकरणले नेपालमा पर्यटन, नागरिक उड्डयन र बिमा क्षेत्रको विश्वसनीयतामात्र होइन, कानूनी र अनुसन्धान प्रणालीकै निष्पक्षतामाथि चुनौती खडा गरेको छ ।
मुख्य नाइके कँडेल समूहसँग अर्बौंको सम्पत्ति
एयर डायनिष्टी हेलि सर्भिसका मालिक श्यामसुन्दर कँडेल तिमिल्सिना र रिमाल फेक रेस्क्युका मुख्य डन हुन् । उनीहको अर्बौं सम्पत्तिमाथि सीआईबीले दोस्रो चरणमा अनुसन्धान थाल्ने जनाएपनि अहिलेसम्म शुरु गर्न सकेको छैन ।
सीआईबीले सबै जनालाई एउटै वास्केटमा राखेर अनुसन्धान गर्दा कतिपय नाम मुछिएकै कारण समस्यामा परेका छन् ।
सीआईबीले गरेको अनुसन्धानमा कँडेल गिरोहका मुख्य नाइके रहेको खुलेपछि सेटिङमा भागेका थिए । कँडेलका पाटर्नर रहेका जयराम रिमाल भने पक्राउ परे ।
प्रहरीले मुद्दा दायर गरिसकेपछि सुटुक्क अदालत उपस्थित भएका कँडेल एक रात पनि प्रहरी हिरासतमा बस्नु परेन । गत सोमबार न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले उनलाई धरौटीमा छाड्ने आदेश दिएको हो ।
स्रोतका अनुसार पक्राउ परेकाहरुलाई छुटाउन कँडेलले बाहिर बसेर करोडौंको सेटिङ गरेका थिए । कँडेलले यही धन्दाबाट अर्बको सम्पत्ति जोडिसकेका छन् ।
उनको एयर डायनेष्टिसहित फ्लाइट कनेक्सन इन्टरनेशनल, होटल ग्रिन पार्क चितवन, श्वाकन इन्टरनेशनल हस्पिटल, बागमती फाइबर एण्ड मेटल, ज्वाइन्ट भेन्चर इन्भेष्टमेन्ट कम्पनी, ट्रष्ट नेष्ट रियल स्टेट, गोल्डेन फाम्र्स लगायत कम्पनीमा लगानी छ ।