चितवन । चितवन प्रहरीले भारतीय प्रधानमन्त्रीको नक्कली भिडियो बनाएर सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा एक जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर–१६ निवासी नन्दप्रसाद भट्टलाई बुधबार नियन्त्रणमा लिइएको हो।
प्रहरीका सूचना अधिकारी रविन्द्र खनालले सामाजिक सञ्जालमा भ्रामक सामग्री पोस्ट गरी अफवाह फैलाउने उद्देश्य देखिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए।
प्रहरीका अनुसार उक्त भिडियोमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी ले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का नेता बालेन शाह लाई भोट मागेको जस्तो देखिने सामग्री समावेश गरिएको थियो। तर, उक्त भिडियो ‘एआई जेनेरेटेड डीपफेक’ भएको पुष्टि भएपछि कारबाही अघि बढाइएको हो।
भिडियो फेसबुक लगायत सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको र त्यसले सर्वसाधारणमा भ्रम तथा गलत धारणा फैलाउने जोखिम देखिएको भन्दै प्रहरीले साइबर अपराध अन्तर्गत अनुसन्धान सुरु गरेको जनाएको छ।