काठमाडौं । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका–१५ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका-१५ बस्ने ४९ वर्षीया कमला देवी सुनुवार, सिन्धुली कमलामाई नगरपालिका-७ स्थायी घर भई हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका-४ बस्ने २९ वर्षीया सविना खड्का, र काठमाडौं दक्षिणकाली नगरपालिका–९ स्थायी घर भई हाल काठमाडौं टोखा नगरपालिका–११ बस्ने ४१ वर्षीय अम्बर गुरुङ रहेका छन् ।
बिहीबार उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले तिनै जनालाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार कमला देवी सुनुवारले आकर्षक तलबमा क्रोएसिया पठाइदिने भन्दै दुई जनाबाट ४ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोप छ । त्यसैगरी सविना खड्काले अमेरिका पठाइदिने भन्दै एक जनाबाट १ लाख रुपैयाँ लिएको उजुरी परेको छ । यस्तै अम्बर गुरुङले पनि क्रोएसिया पठाइदिने भन्दै एक जनाबाट ५० हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।
बेरोजगार युवाहरुलाई विदेश पठाइदिने प्रलोभन देखाएर लामो समयसम्म सम्पर्कविहीन बनेपछि पीडितहरूको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ ।