काठमाडौं । सूर्यमुखी तेलमा तोकिएको मापदण्डभन्दा कम तौल राखेर बिक्री गरेको आरोपमा एक उद्योगी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ललितपुर महानगरपालिका वडा नं. १३ पाटन घर भएका ललितपुरको लेलेस्थित महादेव खोलामा सञ्चालित ओमकार आयल ईन्डस्ट्रिज प्रालिका सञ्चालक विजय श्रेष्ठ रहेका छन् ।
ओमकार आयल ईन्डस्ट्रिज प्रालिबाट उत्पादन हुने छहारी र ओमकार ब्राण्डको सनफ्लावर तेल (१ लिटर र ५०० एमएल)को प्याकेटमा तोकिएको भन्दा कम तौल राखी बजार पठाउने गरेको विशेष सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान सुरु गरेको थियो।
अनुसन्धानका क्रममा प्याकेजिङ्ग गरिएका तेलका प्याकेटहरूमा वास्तविक तौल कम भएको पाइएपछि प्रहरीले उद्योगका सञ्चालक ४३ वर्षीय श्रेष्ठलाई नियन्त्रणमा लिएको हो।
घटनाबारे थप अनुसन्धानका लागि श्रेष्ठलाई जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।
प्रहरीले श्रेष्ठलाई नियन्त्रणमा लिएर उनले तेल भण्डारण गरेका विभिन्न स्थानहरूमा छापा समेत मारेको छ ।
छापा मार्ने क्रममा प्रहरीले ठुलो परिमाणमा मापदण्ड विपरीतका तेलका कार्टुनहरू समेत बरामद गरेको छ।