Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ग्रिस पठाईदिन्छु भन्दै करोडौं ठगेर जिके खकुरेल बेपत्ता

ग्रिस पठाईदिन्छु भन्दै करोडौं ठगेर जिके खकुरेल बेपत्ता

बुधवार , चैत्र १८, २०८२

काठमाडौं । बैदेशिक रोजगारीमा ग्रिस पठाईदिन्छु भन्दै करोडौं ठगी गरेर जिके खकुरेल भन्ने गोकर्ण खकुरेल सम्पर्क विहिन बनेका छन् । 

सन्तोष श्रेष्ठसहित दर्जनौ व्यक्तिबाट खकुरेलले दुई करोड भन्दा बढी रकम लिएर उनी सम्पर्क विहिन बनेको पीडितको भनाई छ । 

धादिङ स्थायी घर भएका खकुरेल अहिले माल्टा बस्छन् । माल्टामा आफैले होटल तथा रेष्टुरेन्ट खोलेको र त्यहि काम लगाइदिने भन्दै उनले दर्जनौं व्यक्तिहरुसँग दुई करोड भन्दा बढी रकम लिएको पीडितको आरोप छ । 

माल्टामै बसेर डिल गरेका उनले विजय कुमार श्रेष्ठ, सिजन तामाङ, सरस्वती साह, लखबहादुर तामाङ, शम्भु सिलवाल, सञ्जोग घिसिङलगायतका व्यक्तिको खातामा पीडितलाई रकम जम्मा गर्न लगाएका छन् । 

आफूले सिधै रकम लिन नमिल्ने भन्दै खकुरेलले ‘लोन रिटर्न’ लेखेर अन्य व्यक्तिहरुको खातामा पैसा जम्मा गर्न लगाएको श्रेष्ठले अनलाइन नेपालसँग बताए । जसको रेकर्ड आफूसँग सुरक्षित रहेको पनि श्रेष्ठको भनाइ छ । 

श्रेष्ठले भने–‘परमिट र अफर लेटर पठाएपछि हामीले रकम जम्मा गर्न थालेका हौं । तर, उसले पाठएको सबै डकुमेन्ट नै नक्कली रहेछ ।’

आफू एनआरएनएको सदस्य रहेको र माल्टामा होटल सञ्चालन गर्दै आएको भन्दै खकुरेलले नेपाली युवाहरुसँग रकम असुल्दै आएका छन् । 

खकुरेलले वैदेशिक रोजगारीका लागि ग्रिस पठाएर मासिक १ लाख रुपैयाँ भन्दा बढी तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक–पटक गरी करोडौं ठगी गरेको श्रेष्ठको भनाई छ । 

पटक–पटक फोन गर्दा पनि सम्पर्कमा नआउने र बल्ल बल्ल सम्पर्कमा आए पनि ‘म काम गर्दैछु तपाईंको रकम छिट्टै फिर्ता गर्छु’ भनेकै दुई वर्ष बित्न लागेको पीडित श्रेष्ठको भनाई छ । 

विगत एक दशकदेखि नै मानव तस्करी गर्दै आएका खकुरेलले यसअघि इराकमा पुर्याएर केही नेपालीलाई अलपत्र पारेको समेत बुझिएको छ । 

पोर्चुगलमा रेष्टुरेन्ट खोलेर केही नेपालीलाई त्यहाँ पुर्याई माल्टा भासिएका खकुरेलले आफूसँग मात्रै ४६ लाख ५० हजार लिएको श्रेष्ठको भनाई छ । 

खकुरेलले पुलिस रिपोर्ट बनाउका लागि भन्दै १५० जना युवासँग ३०-३० हजारका दरले रकम उठाएको पनि उनले बताए ।

आफूहरु ठगिएपछि केही पीडितहरुले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र अपराध अनुसन्धान महाशाखामा उजुरी गर्ने तयारी गरेको समेत बताएका छन् । 

समाचारको विषयमा प्रतिक्रियाका लगि खकुरेलसँग पटक–पटक सम्पर्क गर्दा उनीसँग सम्पर्क हुन सकेन । 

यसैबीच, नेपाली विद्यार्थीलाई दुबई लगेर ठगी गर्ने गिरोहमा गैरआवासिय नेपाली संघ (एनआरएन) का नेताकै संलग्नता भेटिएपछि सीआइबीले यसमा बिस्तृत अनुसन्धान गरिरहेको छ ।

एनआरएनका केन्द्रीय कोषाध्यक्ष ठाकुर प्रसाद ढुंगाना समेतको मिलेमतोमा ठगी भएको प्रहरीको अनुसन्धानमा खुलिसकेको छ । 

सीआइबीले हालसम्म पाँच जनालाई पक्राउ गरिसकेको छ भने ढुंगाना लगायत केही व्यक्ति फरार सूचीमा छन्। उनीहरुलाई पक्राउ गर्न अदालतबाट अनुमति प्राप्त भइसकेको सीआइबीका एक अधिकारीले बताए ।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077