Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रहरी कर्मचारीलाई आईजीपी कार्कीको निर्देशन - व्यवहार सुधार्नू, जिम्मेवारी निभाउनू

प्रहरी कर्मचारीलाई आईजीपी कार्कीको निर्देशन - व्यवहार सुधार्नू, जिम्मेवारी निभाउनू

बुधवार , चैत्र ४, २०८२

अनुशासन र इमानदारीमा जोड : प्रहरी महानिरीक्षक कार्कीको कडा निर्देशन

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले प्रहरी संगठनलाई थप अनुशासित, निष्ठावान् र इमानदार बनाउन कडा निर्देशन दिएका छन्। उनले सबै प्रहरी कर्मचारीलाई उच्च व्यावसायिकता प्रदर्शन गर्दै उत्कृष्ट व्यवहार, बोली र वचनमार्फत नागरिकको अपेक्षा पूरा गर्न आग्रह गरेका छन्।

नेपाल प्रहरी प्रधान कार्यालयबाट बुधबार भर्चुअल सम्बोधन गर्दै महानिरीक्षक कार्कीले कार्यशैलीमा अझ सुधार आवश्यक रहेको उल्लेख गरे।

उनले हालै सम्पन्न निर्वाचन शान्तिपूर्ण, भयरहित र निष्पक्ष रूपमा सम्पन्न गराउन प्रहरीको भूमिका प्रशंसनीय रहेको बताए। 'यसले संगठनको समग्र छविमा सकारात्मक योगदान पुर्‍याएको छ,' उनले भने।

कार्कीले प्रहरीको धर्म र कर्म नै सेवा र सुरक्षा भएको उल्लेख गर्दै आफ्नो जिम्मेवारी क्षेत्रको विस्तृत अध्ययन गरी योजनाबद्ध सुरक्षा व्यवस्थापनलाई अझ मजबुत बनाउन निर्देशन दिए।

उनले आपराधिक गतिविधि नियन्त्रणका लागि सूचना संकलन र विश्लेषणलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए।

सीमानाकामा हुने आपराधिक गतिविधि नियन्त्रण, फरार प्रतिवादी पक्राउ, हातहतियार बरामदजस्ता विषयमा विशेष सुरक्षा योजना लागू गर्न उनले निर्देशन दिएका छन्।

साथै कार्यसम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयन र हिरासत व्यवस्थापनमा विशेष सतर्कता अपनाउन पनि उनले जोड दिए।

कार्यक्रममा उमाप्रसाद चतुर्वेदी, सुशीलसिंह राठौर र डम्बरबहादुर विक ले पनि समसामयिक विषयमा निर्देशन दिएका थिए।

देशभरका प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय, ट्राफिक तथा राजमार्ग सुरक्षा इकाइहरू र अन्य मातहत निकायका प्रमुख तथा प्रतिनिधिहरू भर्चुअल माध्यमबाट कार्यक्रममा सहभागी भएका थिए।

महानिरीक्षक कार्कीले हालै काजसरुवा भई कार्यक्षेत्र जान लागेका डीएसपी र इन्स्पेक्टरहरूलाई सफल कार्यकालको शुभकामना दिँदै जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न निर्देशन दिएका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077