काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले २१औँ शताब्दीको आधुनिक समाजमा पनि जाति र रङ्गभेदको कुरा भइरहनु दुःखद् भएको बताएका छन् ।
अन्तर्राष्ट्रिय जातीय तथा रङ्गभेद उन्मूलन दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
महानिरीक्षक कार्कीले सुरक्षालाई केवल भौतिक सुरक्षा नबुझी ‘मानवीय सुरक्षा’को व्यापक दृष्टिकोण अपनाउनुपर्नेमा जोड दिँदै भ्रूणको रक्षा, बालबालिकाको पोषण, शिक्षा, स्वास्थ्य र सर्वाङ्गीण सुरक्षाको प्रत्याभूति राज्यको मूल दायित्व भएको बताए ।
उनले भने- ‘आज २१औँ शताब्दीमा हामी फेरि जाति र रङ्गभेदका कुरा गरिराख्न बाध्य छौँ । यसलाई अन्त्य गर्न सबैको ऐक्यबद्धता र जिम्मेवारी आवश्यक छ । मानव-मानवको अन्तर्निहित मर्यादाको रक्षा गर्नु मुलुकको मुख्य दायित्व हो ।’
महानिरीक्षक कार्कीले दलित समुदायको न्यायमा पहुँच सुनिश्चित गर्न राज्यका संरचनामा रहेका ‘बोटलनेक’ खुला गर्नुपर्ने बताएका छन् ।
न्यायमा पहुँचका लागि संस्कार, संस्कृति, शिक्षा र व्यवहारगत पक्षमा सुधार ल्याउनुपर्ने उनको तर्क छ।
उनले प्रहरी पनि समाजकै संरचनाबाट बनेको भएकाले कानुन कार्यान्वयनमा सकारात्मक भूमिका खेल्नु पर्ने बताए ।