काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, पर्सामा भएको गम्भीर राजस्व अनियमितताको प्रकरणमा तत्कालीन अधिकृत हरिनारायण मिश्रसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार आर्थिक वर्ष २०७०/७१ मा रजिस्ट्रेसन फाँट ‘ग’ मा एकै नम्बरका दोहोरो तथा तेहोरो रजिस्ट्रेसन नम्बर प्रयोग गरी एकभन्दा बढी लिखत पारित गरिएको पाइएको छ। यसरी बढी रकम भएका लिखतको राजस्व नबुझाई ठूलो परिमाणमा राजस्व चुहावट गरिएको आरोप छ।
आयोगका अनुसार मालपोत कार्यालय, पर्साका तत्कालीन चार मालपोत अधिकृतहरू हरिनारायण मिश्रविरुद्ध ३८ लाख ८० हजार ३६८ रुपियाँ, भूपबहादुर बोगटीविरुद्ध एक करोड दस लाख ६० हजार ५२४ रुपियाँ, पदमप्रसाद अर्यालविरुद्ध २१ लाख ३८ हजार १६९ रुपियाँ र सुरेन्द्रप्रसाद राव कुर्मीविरुद्ध ९९ लाख दश हजार ५१५ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।
यसैगरी, तत्कालीन नायव सुब्बा स्वर्गीय किरणप्रसाद उपाध्यायको हकमा अंशियार छोराहरू राजकिशोर प्रसाद उपाध्याय, गौतमप्रसाद उपाध्याय, पशुपतीप्रसाद उपाध्याय र मुरारीप्रसाद उपाध्यायविरुद्ध दुई करोड ९३ लाख ६८ हजार ५६५ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को देहाय (ग) बमोजिमको कसुरमा फरक–फरक बिगो कायम गरी कैद र हिनामिना भएको बिगो रकमको दोब्बर जरिवाना हुन समेत मागदाबी लिइएको आयोगले जनाएको छ ।