काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई म्याद थप गर्न अदालतमा उपस्थित गराइएको छ।
दुवै जनालाई भर्चुअल माध्यमबाट अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासमा म्याद थपबारे बहस भइरहेको छ ।
गत भदौ २३-२४ गते जेनजी पुस्ताको प्रदर्शन हिंसात्मक बन्दा तीन जना प्रहरीसहित ७६ जनाको मृत्यु भएको थियो । उक्त घटनामा दुई हजार चार सयभन्दा बढी प्रदर्शनकारी गम्भीर घाइते भएका थिए ।
प्रदर्शनको क्रममा सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, राष्ट्रपति भवन, प्रहरी कार्यालय, व्यापारिक प्रतिष्ठान तथा निजी निवासमा समेत आगजनी तोडफोड लुटपाट भएको थियो ।
सो घटनाबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री लेखकसहित जिम्मेवार पदमा रहेका व्यक्तिहरूलाई दोषी ठहर्याउँदै कारबाही सिफारिस गरेको थियो ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनपछि चैत १३ गते गठन भएको प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।
चैत १४ गते बिहान झिसमिसेमै प्रहरीले ओलीलाई भक्तपुरको गुण्डुस्थित निवासबाट र लेखकलाई भक्तपुरको कटुन्जेस्थित निवासबाट नियन्त्रणमा लिएको थियो ।
त्यसपछि जिल्ला अदालत, काठमाडौंले दुवैलाई अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्न अनुमति दिएको थियो।
पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत, काठमाडौंले दिएको म्याद सकिन लागेकाले उनीहरुलाई पुन: अदालतमा उपस्थित गराइएको हो ।
यसबीच गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै आइतबार लेखककी पत्नी यशोधा लेखक र ओली पत्नी रधिका शाक्यले थुनामुक्त गर्न माग राख्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।
उक्त रिटमाथि लेखकको तर्फबाट न्यायाधीश कुमार रेग्मी र ओलीको तर्फबाट न्यायाधीश मेघराज पोखरेलको इजलासमा प्रारम्भिक सुनुवाइ भएको थियो । तर, अदालतले सरकारका नाममा कारण देखाउ आदेश जारी गर्दै थुनामुक्त गर्न अस्वीकार गरेको थियो ।