काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ ले सिंहदरबारमा विदेशी राजदूतहरूसँग सामूहिक छलफल गरेका छन् ।
शाह नेतृत्वको नयाँ सरकारले गठन भएपछि विभिन्न देशका राजदूतहरूसँग अन्तर्राष्ट्रिय संवादको सुरुवात गरेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा भारत, पाकिस्तान, कोरिया गणराज्य, बेलायत, कतार, स्विट्जरल्यान्ड, फ्रान्स, इजरायल, जापान, बङ्गलादेश, जर्मनी, इजिप्ट, श्रीलङ्का, साउदी अरेबिया, चीन, संयुक्त राज्य अमेरिका र संयुक्त राष्ट्र सङ्घका राजदूतरनियोग प्रमुखहरू उपस्थित थिए।
छलफलमा सरकारकातर्फबाट भने परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाह, मुख्यसचिव सुमनराज अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई र अन्य सरकारी अधिकारीहरू उपस्थित थिए।
परराष्ट्र मन्त्रालयका अनुसार, यस भेटघाटको उद्देश्य नेपालको पछिल्लो राजनीतिक अवस्था र सरकारले अगाडि बढाउने प्राथमिकताबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनु रहेको थियो ।
प्रधानमन्त्री शाहले नेपालको सन्तुलित र व्यावहारिक परराष्ट्र नीतिलाई दोहोर्याउँदै छिमेकी, मित्र राष्ट्र र विकास साझेदारहरूसँग विश्वास, पारस्परिक सम्मान र साझा समृद्धिमा आधारित सम्बन्धलाई अझ प्रगाढ बनाउनुपर्ने आवश्यकतामा जोड दिए ।
प्रधानमन्त्री शाहले सुशासन, आर्थिक विकास र वैदेशिक सम्बन्धलाई सन्तुलित रूपमा अघि बढाउने सरकारको प्रतिबद्धता व्यक्त गरेका छन् ।
सामूहिक छलफलमा सहभागी राजदूतहरूले पनि नयाँ सरकारको कार्यदिशा र प्राथमिकतामा चासो देखाएका थिए ।
साथै राजदूत एवं नियोग प्रमुखहरूले प्रधानमन्त्री शाहलाई बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना समेत व्यक्त गरेका छन् ।