काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाली सेनाका नवआयुक्त अधिकृतहरूलाई कर्तव्यनिष्ठ, अनुशासित र जिम्मेवार भएर राष्ट्रसेवामा समर्पित हुन निर्देशन दिएका छन् ।
भक्तपुरको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा बिहीबार आयोजित अधिकृत क्याडेट तालिमको आयुक्त पद प्रदान कवाज समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले करिब ३६ महिनाको कठिन प्रशिक्षण सफलतापूर्वक पूरा गरेकोमा क्याडेटहरूलाई बधाइ दिएका थिए।
उनले मातृभूमि र जनताप्रति पूर्ण समर्पित भएर जिम्मेवारी निर्वाह गर्न आग्रह गर्दै सैनिक आचरण, ‘चेन अफ कमान्ड’ र अनुशासनभित्र रहेर सधैं कर्तव्यप्रति सजग रहनुपर्नेमा जोड दिए।
प्रधानमन्त्री शाहले फरक सामाजिक पृष्ठभूमिबाट आएका जवानहरूको नेतृत्व गर्दै सक्षम र एकीकृत टोली निर्माण गर्न नवआयुक्त अधिकृतहरू सफल हुने विश्वास व्यक्त गरे।
समारोहमा उत्कृष्ट प्रदर्शन गर्ने अधिकृत क्याडेटहरूलाई श्रेष्ठताको प्रतीक खुकुरी तथा छडी प्रदान गर्दै सम्मान गरिएको थियो। प्रधानमन्त्रीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा १ सय ८३ जना अधिकृत क्याडेटहरूले आकर्षक कवाज प्रदर्शन गरेका थिए।