काठमाडौं । प्रहरी हिरासतबाट मुक्त भई हाल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा उपचार गराइरहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको सोमबार पत्थरीको अप्रेसन हुने भएको छ ।
स्वास्थ्यस्थितिका कारण अपरेशन अनिश्चित बनेको भन्ने हल्लाका बीच अस्पतालका निर्देशक डा. सुवास आचार्यले शनिबार बेलुकीसम्मको रिपोर्टअनुसार सोमबार अप्रेसन गर्नमा कुनै समस्या नरहेको बताएका हुन् ।
निर्देशक आचार्यले भने- 'अप्रेसन गर्नुपूर्व गरिनुपर्ने सबै परीक्षण भइसकेको छ । शनिबार ती सबै परीक्षणको रिपोर्ट सकारात्मक छ । त्यसकारण उनको अप्रेसन सोमबार गर्न सकिन्छ ।'
जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदनमा सिफारिसबमोजिम पूर्वप्रधानमन्त्री समेत रहेका ओलीलाई प्रहरीले चैत १३ गते भक्तपुर, गुण्डुस्थित निवासबाट पक्राउ गरिएको थियो ।
स्वास्थ्यमा समस्या आएका कारण उनी सोही दिनदेखि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएका थिए ।
१४ गते पक्राउलगत्तै गरिएको स्वास्थ्य परीक्षणका क्रममा तीनपटक मिर्गौला प्रत्यारोपण गरेकाओलीमा पाँच प्रकारका समस्या देखिएका थिए ।
त्रिवि शिक्षण अस्पतालले जारी गरेको उनको स्वास्थ्यसम्बन्धी सूचनाअनुसार हाइड्रोनेफ्रोसिस, मधुमेह, मेलिटस, उच्च रक्तचाप, हाइपोथायरायडिज्म, एपीसी र कोलेलिथियासिस जस्ता समस्या थिए । तिनै समस्याका कारण पत्थरीको अप्रेसन गर्न मिलेको थिएन ।
ओली परिवारले दिएको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै अदालतले गत सोमबार काठमाडौं अदालतबाट थपिएको ५ दिन म्याद सकिएपछि हिरासतमुक्त गर्न आदेश दिएको थियो ।
न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासले हिरासतमा राखेको कुरालाई ‘कानुन प्रतिकूल भन्न नमिल्ने’ उल्लेख गरे पनि म्याद थप भएको अवधिमा अनुसन्धान सम्पन्न गरेर मुद्दा चल्ने, नचल्ने निर्णय गरी सोही अनुसार गर्न आदेश दिएको थियो ।
भदौ २३ र २४ को घटनाबारे अनुसन्धानका लागि पक्राउ परेका ओलीलाई प्रहरीले बिहीबार बिहान हाजिर जमानीमा छाडेको थियो ।
ओलीसँगै पक्राउ परेका पूर्व गृहमन्त्री एवम कांग्रेस नेता रमेश लेखकलाई २६ गते जिम्मा जमानीमा रिहा गरेको थियो । लेखक भने घर फर्किसकेका छन् ।
तर ओलीको पत्थरीको उपचार नगरी घर फर्किनका लागि चिकित्सकले अनुमति दिएका थिएनन् ।
निर्देशक डा.आचार्यका अनुसार सोमबार बिहानसम्म स्वास्थ्यमा थप कुनै समस्या नआए अप्रेसन हुनेछ । हाल ओली चिकित्सकको निगरानीमै छन् ।