काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय राजनीति र आगामी निर्वाचनलाई लक्षित गर्दै संगठनात्मक पुनर्संरचना र संवाद रणनीतिमा एकैसाथ ठूला निर्णयहरू गरेको छ।
बुधबार ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले वार्ता टोलीदेखि निर्वाचन ब्युरोसम्मका महत्वपूर्ण संरचना गठन गर्दै पार्टीलाई थप सक्रिय बनाउने संकेत दिएको हो।
राजनीतिक सहकार्य र साझा धारणा निर्माणका लागि अर्जुननरसिंह केसीको संयोजकत्वमा उच्चस्तरीय वार्ता टोली गठन गरिएको छ।
उक्त टोलीले संसद्भित्र र बाहिर रहेका दलहरूसँग निरन्तर संवाद गर्दै राष्ट्रिय मुद्दामा सहमति खोज्ने जिम्मेवारी पाएको छ।
त्यसैगरी, पार्टीले दीर्घकालीन निर्वाचन तयारीलाई संस्थागत गर्न उपसभापति पुष्पा भुसालको नेतृत्वमा ‘निर्वाचन ब्युरो’ गठन गरेको छ।
प्रवक्ता देवराज चालिसेका अनुसार यो ब्युरो अस्थायी होइन, पाँचै वर्ष सक्रिय रहने स्थायी संरचना हुनेछ, जसले सूचना संकलनदेखि तालिम र रणनीतिक तयारीसम्मका काम अघि बढाउनेछ।
सांगठनिक सुदृढीकरणतर्फ ध्यान दिँदै महामन्त्री गुरुराज घिमिरे को नेतृत्वमा संगठन सञ्चालन तथा समन्वय समिति गठन गरिएको छ।
समितिमा सहमहामन्त्रीहरू बहादुर सिंह लामा र मुक्त यादव सदस्य छन्। यस समितिले पार्टीभित्रको ‘चेन अफ कमान्ड’लाई व्यवस्थित गर्दै केन्द्रीय कार्यालयसँग समन्वय गर्नेछ।
यस्तै, १५औँ महाधिवेशनको तयारीलाई तीव्र बनाउन महामन्त्री प्रदीप पौडेल को संयोजकत्वमा अर्को समिति गठन गरिएको छ। सहमहामन्त्रीद्वय योगेन्द्र चौधरी र प्रकाश स्नेही सदस्य रहेको यो समितिले क्रियाशील सदस्यता व्यवस्थापन र वितरणको जिम्मेवारी सम्हाल्नेछ।
महाधिवेशन समयमै सम्पन्न गर्न आवश्यक वातावरण निर्माणको जिम्मा पार्टी सभापति गगन कुमार थापा लाई दिइएको छ।
बैठकले पार्टीका सार्वजनिक कार्यक्रमहरूलाई थप व्यवस्थित, अनुशासित र समयमै सम्पन्न गर्न ‘सार्वजनिक कार्यक्रम सञ्चालन कार्यविधि’ समेत पारित गरेको छ, जसले कार्यक्रमलाई आधुनिक र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
यसैबीच, निवर्तमान उपसभापति पूर्णबहादुर खड्का सँग सम्बन्धित अनुशासन विवादबारे पनि बैठकमा चर्चा भएको छ।
प्रवक्ता चालिसेले अनुशासन समितिले विधान र तथ्यका आधारमा स्वतन्त्र रूपमा काम गरिरहेको स्पष्ट पार्दै पार्टीभित्र अनुशासनको मर्यादा सबैका लागि समान हुने बताएका छन्।